एमालेका केन्द्रीय सदस्यलाई पालिका केन्द्रित हुन निर्देशन
काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ।
जेठ ४ गतेदेखि सुरु भई ८, ९ र १० गते सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णय मातहतका कमिटीमा कार्यान्वयनका लागि पठाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि–२) जारी गरेका हुन्। गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते जारी गरिएको निर्देशनमा नेताहरूको जिम्मेवारी र अभियान सञ्चालनको विस्तृत खाका समेटिएको छ।
निर्देशनअनुसार केन्द्रीय सदस्यहरूलाई जनसंगठन इन्चार्ज र विभागीय प्रमुखको जिम्मेवारीसँगै आफ्नो पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने दायित्व पनि दिइएको छ। केन्द्रीय सदस्य मात्र पर्याप्त नहुने निष्कर्षसहित केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत अभियानमा परिचालन गरिने एमालेले जनाएको छ।
कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र अभियानको नेतृत्व गर्नेछन् भने महासचिवले संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हाल्नेछन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई विभाग तथा फाँटहरूको समन्वयको जिम्मेवारी दिइएको छ। नौ सचिवमध्ये छ जनालाई प्रदेश इन्चार्ज तोकिएको छ।
सचिव हिक्मतकुमार कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, पद्मा अर्याललाई संसदीय मामिला विभाग र भानुभक्त ढकाललाई संगठन विभागको नेतृत्व सुम्पिएको छ। त्यस्तै छविलाल विश्वकर्मा लुम्बिनी, खगराज अधिकारी गण्डकी, यमलाल कँडेल कर्णाली, शेरधन राई कोशी, राजन भट्टराई राजधानी विशेष प्रदेश तथा महेश बस्नेत बागमती प्रदेश इन्चार्ज तोकिएका छन्।
एमालेले विशेषगरी केन्द्रीय सदस्यहरूलाई आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा केन्द्रित गरी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तार गर्ने रणनीति लिएको जनाएको छ। जिल्ला इन्चार्जहरूलाई समेत जागरण अभियानमा सक्रिय रूपमा सहभागी गराइएको छ भने अधिकांश केन्द्रीय सदस्यलाई बढीमा दुई पालिकासम्मको जिम्मेवारी दिइएको छ।
निर्वाचनपछि सुस्त बनेका पार्टी कमिटी र गतिविधिलाई पुनः सक्रिय बनाउने अपेक्षासहित सुरु गरिएको अभियानमा प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यले पाएका छन् भने प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई तोकिएको छ।
