`

स्वर्णिम बजेट आएपछि ओरालो लाग्यो नेप्से

Nepal One HD १८ जेठ २०८३ १६:२८
अर्थ समाचार

काठमाडौं। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सेयर बजारमा सकारात्मक माहोल बन्ने अपेक्षा गरिए पनि साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा उल्लेख्य गिरावट देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक २६.७२ अङ्क अर्थात् ०.९६ प्रतिशतले घटेर २ हजार ७५५.३७ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.७८ अङ्कले घट्दै ४७०.७२ विन्दुमा सीमित भएको छ।

आज कुल ३४९ कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँ पुगेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी सबैभन्दा अगाडि रह्यो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर कम्पनी उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

बजार समग्र रूपमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने नाफा कमाएका छन्। नेपाल पुनर्बीमा कम्पनी, कालिञ्चोक हाइड्रोपावर, सेन्ट्रल फाइनान्स लगायतका कम्पनी तथा केही डिबेञ्चरका लगानीकर्ताले सकारात्मक प्रतिफल प्राप्त गरेका छन्।

यता बुङ्गल हाइड्रोपावर, क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, नेपाल रिपब्लिक मिडिया लगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्।

आज कारोबार भएका १३ उपसमूहमध्ये केवल दुई उपसमूहको सूचक बढेको छ भने बाँकी ११ उपसमूह राताम्मे बनेका छन्। यसले बजेटपछि पनि लगानीकर्ताको मनोबल पूर्ण रूपमा फर्किन नसकेको संकेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *