`

पक्राउ परेका नेविसंघका नेताहरूलाई तत्काल रिहा गर्न कांग्रेसको माग

Nepal One HD १८ जेठ २०८३ १८:२९
नेपाली कांग्रेस

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा दिएको नेपाल–भारत सीमा समस्यासम्बन्धी अभिव्यक्तिको विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेको धारणा विरुद्ध सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका नेविसंघका नेता आदित्य दास, राजकुमार बस्नेत, अर्जुन कार्की, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई प्रहरीले पक्राउ गरेको उल्लेख गरिएको छ।

कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारमाथि हस्तक्षेप गर्दै विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु निन्दनीय भएको जनाएको छ।

विज्ञप्तिमा लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गर्दै पक्राउ परेका विद्यार्थी नेताहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको छ।

कांग्रेसले लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण विरोधलाई दमन गर्ने कार्य स्वीकार्य नहुने भन्दै सरकारलाई संविधान र कानुनले सुनिश्चित गरेका नागरिक अधिकारको सम्मान गर्न समेत आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *