विराटनगर महानगरपालिकाले हासिल गर्यो ‘पूर्णखोप सुनिश्चितता’ लक्ष्य
विराटनगर। विराटनगर महानगरपालिकाले ० देखि ५९ महिनासम्मका बालबालिकालाई लक्षित गर्दै सञ्चालन गरिएको पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रममार्फत पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ।
महानगरपालिकाको खोप शाखाका अनुसार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएपछि कुल ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्याइएको हो। यस उपलब्धिसँगै विराटनगरले खोपबाट रोकथाम गर्न सकिने रोगहरूबाट बालबालिकालाई सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको बताइएको छ।
विवरणअनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका २ हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका १ हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका ६ हजार ९६६ जना रहेका छन्।
महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार खोप अभियानले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगहरूबाट सुरक्षित बनाउन महत्त्वपूर्ण योगदान दिएको छ। उनका अनुसार यसले बाल मृत्युदर घटाउने, रोगको जोखिम न्यूनीकरण गर्ने तथा समग्र रूपमा स्वस्थ समाज निर्माणमा सहयोग पुर्याएको छ।
खोप संयोजक सुशील साहले पूर्णखोप कार्यक्रमले दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी र टिटानसजस्ता रोगबाट बालबालिकालाई जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।
त्यस्तै, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता भएको उल्लेख गरेका छन्।
