`

बालेनलक्षित राजेश हमालको टिप्पणी : ‘अपरिपक्वताले राष्ट्रमाथि गम्भीर संकट पैदा हुन्छ’(भिडियाे)

Nepal One HD २२ जेठ २०८३ १३:२७
भिडियो

काठमाडौँ ।  अभिनेता राजेश हमालले भारतसँग नेपालको सीमा विवाद र प्रधानमन्त्री बालेन्द्र शाहको हालैको अभिव्यक्तिबारे सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्। उनले राष्ट्रिय नेतृत्वमा दूरदृष्टिको अभाव भए गम्भीर संकट निम्तिन सक्ने चेतावनी दिएका छन्।

प्रधानमन्त्रीको नाम सीधै उल्लेख नगरी उनले आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै राज्य-प्रायोजित भू-अतिक्रमण र सीमापार अतिक्रमणलाई एउटै रूपमा नबुझ्नुपर्ने बताएका छन्। उनका अनुसार यी दुई विषय प्रायः एकै अर्थमा प्रयोग भए पनि तिनको प्रकृति र समाधानका उपाय फरक हुन्छन्।

हमालका अनुसार ‘सीमापार अतिक्रमण’ प्रायः स्थानीय नागरिक र भौगोलिक परिस्थितिसँग जोडिएको विषय हो। नेपाल-भारत खुला सीमाका कारण नदीले धार परिवर्तन गर्नु, सीमा स्तम्भ हराउनु वा बस्ती विस्तार हुनु जस्ता कारणले यस्तो समस्या देखिन सक्छ। यस्ता मुद्दालाई रणनीतिक विस्तारभन्दा पनि प्रशासनिक तथा स्थानीय समस्याका रूपमा हेर्नुपर्ने र यसको समाधान संवाद, संयुक्त सर्वेक्षण तथा आपसी सहकार्यबाट सम्भव हुने उनको धारणा छ।

तर ‘राज्य-प्रायोजित भू-अतिक्रमण’ लाई उनले गम्भीर र रणनीतिक प्रकृतिको विषय बताएका छन्। उनका अनुसार यस्तो अवस्थामा कुनै राज्य आफैंले विवादित भूभागमा नियन्त्रण विस्तार गर्ने, सडक निर्माण गर्ने, सुरक्षा निकाय परिचालन गर्ने वा आधिकारिक नक्सा परिवर्तन गर्ने जस्ता गतिविधि गर्छ। उनले यसका उदाहरणका रूपमा कालापानी-लिपुलेक-लिम्पियाधुरा क्षेत्र उल्लेख गरेका छन्।

हमालले वर्तमान विश्व राजनीतिक अवस्था र नेपालको नेतृत्व क्षमतामाथि पनि टिप्पणी गर्दै देश सञ्चालन गर्ने व्यक्तिमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि आवश्यक हुने बताएका छन्। त्यस्ता गुणको अभाव भए राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *