‘सलल कर्णाली’ सार्वजनिक भएपछि…
काठमाडौं । ‘प्रमोद एण्ड परम्परा ब्याण्ड’को अफिसियल गीत ‘सलल कर्णाली’ सार्वजनिक गरिएको छ।
काठमाडौंस्थित एप्रिकस क्याफेमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो।
कार्यक्रममा गीतको निर्माण टिम, कलाकार तथा सहयोगी संस्था गाउँबेशी लजिस्टिकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। गीतमा परम्परा ब्याण्डका प्रमुख भोकलिस्ट प्रमोद खरेलको मुख्य स्वर रहेको छ भने जुम्ला सिन्जाकी १४ वर्षीया सृष्टि बुढाले सहगायन गरेकी छन्।
गीतका शब्द तथा संगीत सुरज थापाले तयार पारेका हुन् भने संगीत संयोजन परम्परा ब्याण्ड र सुरज थापाको टिमले गरेको हो।
गीतको भिडियोमा गायक प्रमोद खरेलसँगै मोडल अश्विनी शाहीको अभिनय रहेको छ। कर्णालीका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो अर्जुन तिवारीको टिमले खिचेको हो भने निर्देशन लक्ष्मण पौड्यालले गरेका छन्। भिडियो सम्पादनको जिम्मेवारी मिलन विश्वकर्माले सम्हालेका छन्।
कार्यक्रममा बोल्दै गायक प्रमोद खरेलले ‘सलल कर्णाली’लाई आफ्नो ब्याण्डको प्रतिक्षित परियोजनाका रूपमा लिएको बताए। अडियो र भिडियो दुवै पक्षमा निकै मेहनत गरिएको उल्लेख गर्दै अब यसको मूल्यांकन दर्शक र श्रोताले गर्ने उनको भनाइ थियो। उनले मौलिक आवाजको खोजी गर्ने क्रममा सृष्टि बुढालाई पहिलोपटक गायनको अवसर प्रदान गरिएको पनि जानकारी दिए।
गीत प्रमोद खरेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
यसैबीच, सोही कार्यक्रममा कुरिअर सेवा कम्पनी गाउँबेशी लजिस्टिकले गायक प्रमोद खरेललाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको घोषणा गरेको छ।
पत्रकार भेटघाट कार्यक्रममार्फत कम्पनीले औपचारिक रूपमा खरेलसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै सहकार्यको सुरुआत गरेको जनाएको छ।
कम्पनीले सेवाग्राहीमाझ आफ्नो पहुँच र विश्वास अझ विस्तार गर्ने उद्देश्यले यो सहकार्य गरिएको बताएको छ।
