`

दिल्लीमा रविका लागि बिछ्याइएको रातो कार्पेटकाे अर्थ के ?

Nepal One HD २३ जेठ २०८३ १३:०६
बिशेष

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हालै सम्पन्न भारत भ्रमण केवल एउटा नियमित राजनीतिक भ्रमण मात्र थिएन। 

पाँचदिने भ्रमणका क्रममा नयाँदिल्लीमा उनले पाएको स्वागत, भेटघाट र सम्मानले नेपाल र भारत दुवैतर्फ राजनीतिक तथा कूटनीतिक वृत्तमा व्यापक चर्चा सुरु गरेको छ। भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा दिल्ली पुगेका लामिछानेलाई पुष्पवृष्टि, रातो कार्पेट र उच्चस्तरीय राजनीतिक स्वागत प्रदान गरियो। अझ महत्वपूर्ण कुरा, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भाजपा नेतृत्वसँग प्रत्यक्ष भेटवार्ता गर्ने अवसर पाए।

विश्लेषकहरूका अनुसार कुनै नेपाली दलका नेताले छोटो समयमै भारतीय सत्ताको लगभग सम्पूर्ण शक्ति केन्द्रसँग एकसाथ संवाद गर्ने अवसर पाउनु असाधारण घटना हो। त्यसैले यो भ्रमणलाई केवल रास्वपा र भाजपाबीचको सम्बन्ध विस्तारका रूपमा मात्र होइन, भारतले नेपालको नयाँ राजनीतिक नेतृत्वप्रति दिएको रणनीतिक सन्देशका रूपमा पनि हेरिएको छ।

लामिछानेको भ्रमण त्यतिबेला भयो, जतिबेला प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले भारतीय राजदूतसँग दूरी कायम गरेको, भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भेट गर्न अस्वीकार गरेको तथा संसदमा सीमा विवादबारे कडा अभिव्यक्ति दिएको चर्चा चलिरहेको थियो। यही पृष्ठभूमिमा दिल्लीले लामिछानेलाई दिएको महत्वलाई धेरैले प्रधानमन्त्री शाहप्रति अप्रत्यक्ष सन्देशका रूपमा व्याख्या गरेका छन्।

यद्यपि भारतको नीति नयाँ राजनीतिक शक्तिहरूसँग प्रारम्भिक चरणमै सम्बन्ध विस्तार गर्ने पुरानै अभ्यास रहेको कूटनीतिक वृत्तको बुझाइ छ। नेपालमा नयाँ नेतृत्व उदाउँदा वा राजनीतिक शक्ति सन्तुलन बदलिँदा भारतले त्यससँग चाँडै संवाद र सहकार्यको ढोका खोल्ने गरेको इतिहास छ।

भ्रमणकै क्रममा लामिछानेले विकास कूटनीति, आर्थिक साझेदारी र नेपाल-भारत सहकार्यका नयाँ सम्भावनाबारे जोड दिएका थिए। भारतले पनि नेपालले प्राथमिकता तय गरे त्यसमा सहयोग गर्न तयार रहेको संकेत दिएको बताइन्छ। यही सन्दर्भमा परराष्ट्रमन्त्री शिशिर खनालको दिल्ली भ्रमणलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ।

रवि लामिछानेको दिल्ली भ्रमणले एउटा स्पष्ट सन्देश दिएको देखिन्छ। 

भारत नेपालका उदाउँदा राजनीतिक शक्तिहरूसँग सम्बन्ध विस्तार गर्न इच्छुक छ। साथै, दिल्लीले नेपालको राजनीतिक नेतृत्वसँग संवादका लागि आफूसँग विभिन्न विकल्प र माध्यमहरू रहेको संकेत पनि दिएको विश्लेषकहरूको निष्कर्ष छ। अब यो भ्रमणले नेपाल-भारत सम्बन्धको आगामी दिशालाई कति प्रभावित गर्छ, त्यो भने आगामी कूटनीतिक गतिविधिले निर्धारण गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *