विश्व बजारमा एआई : मध्यपूर्व तनावबीच पनि कारोबार मजबुत
एजेन्सी। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा विभिन्न चुनौती देखिए पनि सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी वस्तु व्यापार अपेक्षाकृत मजबुत रहेको विश्व व्यापार संगठन (डब्लुटीओ) ले जनाएको छ।
विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पूर्वाधार र प्रविधिमा बढ्दो लगानीले अन्तर्राष्ट्रिय व्यापारलाई सकारात्मक ऊर्जा दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
शुक्रबार सार्वजनिक गरिएको डब्लुटीओको नवीन वस्तु व्यापार सूचकांक १०१.७ मा पुगेको छ। यद्यपि यो जनवरीमा रहेको १०२.३ को तुलनामा केही कम हो।
यसले आगामी महिनाहरूमा व्यापार वृद्धि केही सुस्त हुन सक्ने संकेत गरे पनि समग्र अवस्था औसतभन्दा राम्रो रहेको देखाउँछ।
डब्लुटीओका अनुसार सूचकांक १०० भन्दा माथि रहनु व्यापार औसत प्रवृत्तिभन्दा बलियो रहेको संकेत हो भने १०० भन्दा तल झर्नु व्यापारमा कमजोरी आउन सक्ने अवस्थाको सूचक मानिन्छ।
प्रतिवेदनमा एआईसँग सम्बन्धित उपकरण र पूर्वाधार निर्माणका लागि आवश्यक विद्युतीय पुर्जाको माग उल्लेखनीय रूपमा बढेको उल्लेख छ।
यही बढ्दो मागले मध्यपूर्व द्वन्द्वबाट सिर्जित नकारात्मक प्रभावलाई केही हदसम्म सन्तुलनमा राख्न सहयोग पुर्याएको जनाइएको छ।
सूचकांकका विभिन्न अवयवमध्ये विद्युतीय पुर्जासम्बन्धी सूचक १०५.५ पुगेको छ, जुन औसत स्तरभन्दा निकै माथि रहेको डब्लुटीओले जनाएको छ। अन्य अधिकांश सूचक भने १०० को आसपास कायम छन्।
त्यस्तै, निर्यात आदेशसम्बन्धी सूचक १००.५ मा रहेको छ, जसले अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक गतिविधि निरन्तर रहेको संकेत गर्छ।
यसअघि गत चैतमा सार्वजनिक गरिएको विश्व व्यापार पूर्वानुमान तथा तथ्यांक प्रतिवेदनमा सन् २०२६ मा विश्वव्यापी वस्तु व्यापार १.९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको थियो।
यो वृद्धि अघिल्लो वर्षको तुलनामा केही सुस्त भए पनि सकारात्मक रहने अपेक्षा गरिएको छ।
डब्लुटीओले ऊर्जा मूल्य निरन्तर बढिरहेमा विश्व व्यापार वृद्धिदर १.४ प्रतिशतमा सीमित हुन सक्ने चेतावनी दिएको छ।
तर, कृत्रिम बुद्धिमत्ता क्षेत्रमा लगानी र प्रविधिको विस्तार यही गतिमा अघि बढिरहेमा व्यापार वृद्धिमा थप ०.५ प्रतिशत बिन्दुसम्म योगदान पुग्न सक्ने आकलन गरिएको छ।
