`

बालेन सरकारमाथि कांग्रेसको सूक्ष्म निगरानी

Nepal One HD २४ जेठ २०८३ १८:०९
नेपाली कांग्रेस

काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारका हरेक कामकारबाहीमाथि नेपाली कांग्रेसले निगरानी बढाउने भएको छ ।

जनताको हित र राष्ट्रका हित विपरीत कार्य गरे खबरदारी गर्न बालेन सरकारको सूक्ष्म निगरानी कांग्रेसले गर्ने भएको हो । यसका लागि कांग्रेसले मन्त्रालयगत संयोजक तोकेका सांसदहरूको बैठक आइतबार बसेको छ ।

संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकले मन्त्रिपरिषद्का निर्णय, मन्त्रालयगत गतिविधि तथा सरकारका नीतिगत र प्रशासनिक कामको नियमित अनुगमन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी संयोजक सांसदहरूले विभिन्न मन्त्रालयको कार्यसम्पादन, जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय तथा सरकारको प्रभावकारिताबारे धारणा राखेका थिए ।

बैठकले बालेन सरकारका कामकारबाहीको अध्ययन र विश्लेषण गरी आवश्यक विषय संसदमा सशक्त रूपमा उठाउने, राष्ट्रिय महत्वका मुद्दामा कांग्रेसको धारणा निर्माण गर्न सुझाव दिने तथा जनताका गुनासा र समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍ाउने निर्णय पनि गरेको छ।

कांग्रेसले सरकारको कामको प्रभावकारी निगरानीका लागि मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाउने र नियमित समीक्षा गर्ने नीति लिएको छ । यसका लागि संयोजकहरूको बैठक प्रत्येक महिना कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने व्यवस्था गरिएको छ भने आवश्यकता अनुसार जुनसुकै बेला बैठक बोलाउन सकिने जनाइएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि कांग्रेसले संसदभित्र र बाहिर दुवै मोर्चाबाट सरकारलाई जवाफदेही बनाउन तथा जनचासोका विषयमा दबाब सिर्जना गर्न आफ्नो भूमिका थप सशक्त बनाउने संकेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *