प्रधानमन्त्रीको जवाफ नआउँदा कांग्रेस असन्तुष्ट, सभामुखको भूमिकामाथि पनि प्रश्न
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा आएर सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्याएको छ। कांग्रेस संसदीय दलका नेता भिस्मराज आङ्देम्बेले प्रधानमन्त्री संसदमा उपस्थित नभएकाले अनावश्यक विवाद लम्बिएको बताएका छन्।
उनले कांग्रेस सत्तापक्षसँग टकरावको राजनीति गर्न नचाहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सार्वभौम संसदको रोष्ट्रमबाट दिएको अभिव्यक्तिको जवाफ पनि संसदमै दिनुपर्ने बताए। ‘प्रधानमन्त्री संसदमा आएर एक मिनेट भए पनि आफ्नो धारणा राख्नुपर्छ,’ उनले भने।
आङ्देम्बेले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिक्रिया दिएको विषयमा पनि प्रश्न उठाए। उनले यसले कांग्रेसमा थप संशय उत्पन्न गरेको बताए।
संसदको कार्यसञ्चालन र नियमावली पारित प्रक्रियाप्रति पनि उनले असन्तुष्टि जनाए। नियमावली अपेक्षाविपरीत ढंगले पारित भएको दाबी गर्दै उनले संसदमा अराजक अवस्था सिर्जना भएको टिप्पणी गरे। साथै, प्रधानमन्त्रीसँग जवाफ माग्दा सभामुखले प्रतिरक्षा गर्ने शैली देखिएको आरोप लगाउँदै सभामुखको भूमिकामाथि समेत प्रश्न उठाए।
उनले नीति तथा कार्यक्रममाथिको बहस सरकार र प्रतिपक्षबीच केन्द्रित हुनुपर्ने भए पनि अहिले विवाद सभामुखसँगको तर्क-वितर्कमा सीमित भएको बताए।
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी विवादका बीच कांग्रेसले संसदमै औपचारिक जवाफको माग गरिरहेको छ।
