`

रविसँग भीष्मको अडान- प्रधानमन्त्रीले एक मिनेट भए पनि संसद आएर माफी माग्नैपर्छ

Nepal One HD २५ जेठ २०८३ १६:१५
नेपाली कांग्रेस

काठमाडौं । प्रधानमन्त्री बालेनले नेपालले भारतको सीमा मिचेको भनेकोप्रति माफी माग्नैपर्ने विपक्षी दलहरूले अडान लिएका छन् ।

बालेनको दल रास्वपाका सभापति रवि लामिछानेले सोमबार बोलाएको सर्वदलीय बैठकमा नेपाली जनतासँग उनले संसदको रोस्ट्रमबाटै माफी माग्नुपर्ने बताए ।

बैठकमा लामिछानेले प्रधानमन्त्री बालेनको तर्फबाट परराष्ट्रमन्त्री शिखिर खनालले जवाफ दिने र संसदको गतिरोध अन्त्य गर्नुपर्ने बताएका थिए । ‘परराष्ट्रमन्त्री हिजो (आइतबार साँझ) आइपुग्नु भएको छ । उहाँलाई आजै संसद बैठकमा जवाफ दिन लाऔँ, चित्त बुझेन होइन, सत्यताको आधारमा उहाँले बोलेपछि सदन चलाऔँ ।’

उनले सदन अवरोध नगरी विरोध गर्न पनि विपक्षीहरूसँग आग्रह गरेका थिए । अघिल्लो संसदमा आफूहरूले सदन अवरोध नगरी विरोध गरेको भन्दै जनताले विरोधको त्यो शैली मन पराएको पनि दाबी गरे ।

तर, प्रमुख विपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक मिनेट भए पनि प्रधानमन्त्री बालेन संसद आएर बोल्नुपर्ने बताए ।

‘उहाँको खासै नबोल्ने शैली होला तर जे अभिव्यक्ति दिनुभयो सीमाबारे, उहाँ यही सार्वभौम संसदको रोष्ट्र«ममा १ मिनेट भए पनि उभिएर जवाफ दिनुपर्छ ।’

लामिछानेले परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयबाट प्रष्टीकरण आइसकेको भन्दै प्रधानमन्त्रीले जवाफ दिनु नपर्ने बताए ।

उनले सीमा विवादबारे परराष्ट्र मन्त्रालयको जवाफ आधिकारिक भएको र रास्वपाको पनि धारणा त्यही भएको बताए ।

उनले रास्वपाको सरकार काम गर्न आएको भन्दै औपचारिक कार्यक्रम, शिलान्यास, उदघाटनजस्ता झिनामसिना काममा प्रधानमन्त्री र मन्त्रीहरूलाई सरिक नहुन भनिएको उल्लेख गरे । त्यही भएर प्रधानमन्त्री संसद बैठकमा खासै उपस्थित नभएको उनको भनाइ थियो ।

‘काम गर्नुपर्छ, काम गर्नैका लागि यति ठूलो जनताको विश्वास प्राप्त गरेका छौँ,’ उनले बैठकमा भने, ‘त्यही भएर सानातिना मामिलामा पार्टीले नै जवाफ दिन्छ भनेका छौँ र आज संसदमा परराष्ट्रमन्त्रीलाई बोलाउँछौँ र उहाँले थप जवाफ दिनुुन्छ ।’

लगत्तै एमाले प्रमुख सचेतक ऐन महरले परराष्ट्रमन्त्री शिशिर खनाललाई प्रधानमन्त्री बालेनको विवादित अभिव्यक्तिबारे जवाफ दिन संसद् पठाउने तर प्रधानमन्त्री बालेनलाई चाहिँ किन नपठाउने भन्दै प्रश्न गरे । लामिछानेले महरको जवाफ दिन सकेनन् ।

यसपछि नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले बालेनको बोली राष्ट्रघाती भन्दै उनले सदनबाटै नेपाली जनतासँग माफी माग्नुपर्ने बताए ।

कांग्रेस सांसद शाहनाज खातुनले प्रधानमन्त्री बालेनको सीमा सम्बन्धी विवादित अभिव्यक्तिको जवाफ परराष्ट्रमन्त्री खनालले किन भारतमा गएर दिए ? उनले शंका भएको बताइन् ।

प्रधानमन्त्री बालेनले १७ जेठमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भनेका थिए, ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले भारतको जग्गा मिचेको वा अतिक्रमण गरेको अहिलेसम्म भनेका छैनन् । तर, नेपालका प्रधानमन्त्री बालेनले भने नेपालले भारतको जग्गा धेरै ठाउँ मिचेको घोषणा गरे ।

प्रधानमन्त्री बालेनको यस्तो अभिव्यक्तिपछि राष्ट्रवादी र देशभक्ति नेपालीहरूले चित्त दुखाएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्री बालेनले संसदबाटै देशवासीसँग क्षमायाचनासहित माफी माग्नुपर्ने बताइरहेका छन् ।

तर, प्रधानमन्त्री बालेन माफी माग्न तयार छैनन् । उनको दलका सभापति रवि लामिछाने पनि बालेनलाई माफी मगाउन अनिच्छुक देखिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *