बालेनले सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउँदै, आजै शपथ
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई फर्काउने तयारी गरेका छन्।
स्रोतका अनुसार आजै अपराह्न ३ बजे शपथ हुने तयारी भए पनि राष्ट्रपति कार्यालयलाई प्रारम्भिक तयारीका लागि सूचना पठाइएको बताइएको हो ।
गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए। त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति गठन गरिएको थियो। समितिले पछिल्लो प्रतिवेदनमा गुरुङको सम्पत्तिमा ठूला कैफियत नदेखिएको निष्कर्ष निकालेको बताइएको छ।
मन्त्रिपरिषद् बैठकले आजै सो छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। तर सरकारका प्रवक्ता सस्मित पोखरेलले तत्काल गृहमन्त्री नियुक्तिको औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन्।
प्रवक्ता पोखरेलले भने, ‘बल्ल प्रतिवेदन ग्रहण भयो। अब त्यसलाई अध्ययन गरेपछि आवश्यक निर्णय हुन्छ। फाइल ग्रहण गरेर, अध्ययन गरेपछि मात्रै शपथ ग्रहण हुने होला नि, पछि गर्नुपर्यो भने। अहिलेलाई फाइल ग्रहण गर्ने मात्रै निर्णय भएको छ। मन्त्रिपरिषद्मा त्यस्तो निर्णय भएको छैन।’
भिडियो हेर्नुहोस् :
छानबिन समितिका अनुसार गुरुङले बुझाएको सम्पत्ति विवरणमा उल्लेख भएका तथ्यहरूमा ठूलो विसंगति नदेखिएको बताइएको छ। समितिका स्रोतका अनुसार उनका नाममा धनकुटाबाहेक अन्य स्थानमा जग्गा भेटिएको छैन।
‘सुधनको नाममा धनकुटा बाहेक अन्यत्र जग्गा भेटिएन। हजुरबुवाको नाममा रहेको सम्पत्तिसमेत उल्लेख गरेको पाइयो,’ स्रोतले बतायो।
गुरुङले गोरखा, चितवन र धनकुटामा जग्गा रहेको उल्लेख गरेका थिए। मालपोत कार्यालयबाट समेत विवरण मगाएर गरिएको अध्ययनमा धनकुटामा १९ रोपनी १५ आना जग्गा उनको नाममा रहेको देखिएको समितिले जनाएको छ।
त्यसैगरी चितवनमा ३० कट्ठा र गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको उल्लेख गरिएको भए पनि तीमध्ये धेरैजसो जग्गा बुवा र हजुरबुवाको नाममा रहेको समितिको निष्कर्ष छ।
समितिका अनुसार सम्पत्ति विवरणमा केही विवरण फरक देखिए पनि प्रणालीगत कमजोरीका कारण भएको देखिएको छ।
अब मन्त्रिपरिषद्ले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र अन्तिम निर्णय गर्ने जनाइएको छ।
