आर्थिक विधेयकको १६ पृष्ठ गायब, अर्थमन्त्रीलाई सुनपानीले चोख्याउँदै सरकार
काठमाडौं। संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका रातारात १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक सार्वजनिक गर्यो ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जेठ १५ गते आर्थिक विधेयक ल्याएका थिए । उक्त विधेयकमा आर्थिक विधेयक पृष्ठ संख्या ४६४ रहेकोमा अर्थ मन्त्रालयले फेरबदल गरेर आफ्नो वेबसाइटमा राखेको विधेयकको पृष्ठ संख्या ४४८ राखेको छ ।
अर्थमन्त्रालयले १६ पेज हटाएर विधेयक सार्वजनिक गरेको हो ।
संसद्मा पेश गरेको र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा पछिल्लो पटक राखेको आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्थामै फरकपन रहेको छ ।
तथापि अर्थमन्त्री वाग्लेलाई सुनपानीले चोख्याउँदै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले आर्थिक विधेयकमा कुनै चलखेल नभएको दाबी गरेका छन्।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अर्थमन्त्रीले मेहनत गरेर राम्रो बजेट ल्याएको बताए।
प्रवक्ता पोखरेलले भने, ‘कुनै चलखेल भएको छैन, अर्थमन्त्रीले एकदम मेहनत गरेर एकदमै राम्रो बजेट ल्याउनुभएको छ, त्यसमा हाम्रो पूर्ण समर्थन छ।’
करका दरसम्बन्धी सूचना चुहावट, बीवाईडी विद्युतीय गाडी भन्सार पास प्रकरण तथा अर्थ मन्त्रालयबाट अनधिकृत रूपमा करका दर हेरफेर गरिएको भन्दै विपक्षी दलहरूले संसदीय छानबिन समिति गठनको माग गरिरहेका बेला सरकारको यस्तो प्रतिक्रिया आएको हो।
