`

विश्वकप चहलपहल : पोर्चुगल र अर्जेन्टिनाको जर्सी तानातान

Nepal One HD २६ जेठ २०८३ १५:२५
अर्थ समाचार

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप फुटबल २०२६ सुरु हुन अब केही दिन मात्र बाँकी रहँदा नेपालमा यसको उत्साह र चहलपहल तीव्र रूपमा बढेको छ ।

आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुन लागेको विश्वकपको २३औँ संस्करणलाई लिएर नेपाली फुटबलप्रेमीहरूमा विशेष उत्साह देखिएको छ ।

प्रतियोगिता उत्तर अमेरिकी महादेशमा आयोजना हुन लागे पनि नेपालका होटल, रेस्टुरेन्ट तथा इन्टरनेट सेवा प्रदायकहरूले ग्राहक लक्षित विशेष योजना सार्वजनिक गरेका छन् । साथै बजारमा विभिन्न देशका जर्सी तथा खेल सामग्रीको बिक्री उल्लेखनीय रूपमा बढेको छ ।

काठमाडौँ उपत्यकाका प्रमुख व्यापारिक केन्द्र न्यूरोड, महाबौद्ध, असन र लगनखेल क्षेत्रमा रहेका खेलकुद पसलहरूमा समर्थकहरूको भीड बढेको छ । धेरैजसो उपभोक्ता आफूले समर्थन गर्ने टोलीको जर्सी खरिद गर्न पुगिरहेका छन् ।

व्यवसायीहरूका अनुसार पछिल्ला केही दिनदेखि जर्सी तथा खेल सामग्रीको माग असाधारण रूपमा बढेको छ । विशेषगरी पोर्चुगल र अर्जेन्टिनाका जर्सी सबैभन्दा बढी बिक्री भइरहेका छन् । स्पेन र ब्राजिलका नयाँ डिजाइनका जर्सीहरू पनि ग्राहकबीच लोकप्रिय बनेका छन् ।

बजारमा बालबालिकादेखि वयस्कसम्मका लागि ७०० रुपैयाँदेखि २२०० रुपैयाँसम्मका जर्सी उपलब्ध छन् । पुरुषसँगै महिला ग्राहकहरूको उपस्थिति पनि उल्लेखनीय रूपमा बढेको व्यवसायीहरू बताउँछन् ।

जर्सी खरिद गर्न पुगेका फुटबल समर्थकहरूले यसपटक साथीभाइसँग मिलेर विश्वकपका खेलहरूको भरपुर आनन्द लिने योजना बनाएको बताएका छन् । खेलप्रेमीहरूका अनुसार यस्ता विश्वस्तरीय प्रतियोगिताले बालबालिकामा खेलकुदप्रति आकर्षण बढाउने र भविष्यमा नेपाली टोली पनि विश्वकपमा पुगेको हेर्ने सपना थप बलियो बनाउने काम गर्छ ।

दशैँ वा ठूलो पर्वजस्तै बनेको यस वातावरणमा नियमित रूपमा फुटबल नहेर्नेहरू समेत रमाइलोका लागि जर्सी किन्न बजार पुगिरहेका छन् । नेपालमा क्रिकेटको लोकप्रियता पनि उत्तिकै बलियो रहेकाले राष्ट्रिय क्रिकेट टोलीका जर्सीहरू विदेश जाने नेपालीहरूले समेत रुचाउने गरेको व्यवसायीहरूको भनाइ छ ।

यस वर्षको विश्वकप फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ । यसअघि ३२ टोली सहभागी हुने प्रतियोगितामा यसपटक ४८ राष्ट्र प्रतिस्पर्धा गर्नेछन्, जसलाई १२ समूहमा विभाजन गरिएको छ ।

टोली संख्या बढेसँगै नकआउट चरणमा ‘राउन्ड अफ ३२’ थपिएको छ । यससँगै प्रतियोगिता ३९ दिनसम्म चल्नेछ र कुल १०४ खेलहरू हुनेछन् ।

फिफाले यसपटक पुरस्कार राशिमा पनि उल्लेखनीय वृद्धि गरेको छ । विजेता टोलीले इतिहासकै सबैभन्दा ठूलो पुरस्कार राशिमध्ये एक प्राप्त गर्नेछ ।

विश्वकप सुरु हुन लागेसँगै नेपालका फुटबल समर्थकहरूमा उत्साह, बहस र प्रतीक्षाको माहोल झन् बढ्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *