किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक लिला पिटर्स याहिया र राष्ट्र सङ्घका एजेन्सी प्रमुखहरूले मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
भेटघाटमा कृषि प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउँदै उत्पादनशीलता वृद्धि गर्ने, किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने, समावेशी र दिगो कृषि रूपान्तरणलाई प्राथमिकतामा राख्ने विषयमा छलफल भएको थियो ।
उक्त छलफलमा विशेषगरी युवा, महिला, आदिवासी, जनजाति तथा अल्पसङ्ख्यक समुदायको सशक्तीकरणलाई केन्द्रमा राख्दै पर्वतीय क्षेत्रको सांस्कृतिक तथा जैविक विविधता संरक्षणसहित दिगो विकास एजेन्डालाई अघि बढाउने विषयमा जोड दिइएको थियो ।
मन्त्री चौधरीले कृषि र खाद्य प्रणाली जलवायु परिवर्तनबाट उच्च जोखिममा रहेको उल्लेख गर्दै स्थानीय समुदायको सहनशीलता अभिवृद्धि गर्न आवश्यक नीतिगत तथा प्राविधिक सहयोगको आवश्यकता औँल्याउनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखहरूले नेपालको प्राथमिकताप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।
मन्त्री चौधरीले उठाउनुभएको एजेन्डामा प्राविधिक तथा नीतिगत सहयोग निरन्तर रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
