`

पूर्वसांसद छिरिङ ल्हमुले यस्तो भन्दै…त्यागिन् नेकपा

Nepal One HD २८ जेठ २०८३ १२:५१
बिशेष

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा पूर्वसांसद छिरिङ ल्हमुले पार्टीका सबै जिम्मेवारी परित्याग गर्दै स्वतन्त्र रहने घोषणा गरेकी छन्।

अघिल्लो प्रतिनिधिसभामा माओवादीबाट समानुपातिक सांसद रहेकी ल्हमुले बिहीबार वक्तव्य जारी गर्दै पार्टीभित्रकै केही नेताको व्यवहारका कारण आफू यस्तो निर्णय लिन बाध्य भएको बताएकी छन्।

वक्तव्यमा उनले संकीर्णता, असहिष्णुता र निषेधको राजनीतिले आफूलाई स्वतन्त्रताको मूल्य अझ गहिरोसँग बुझ्न मद्दत गरेको उल्लेख गरेकी छन्।

‘मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ,’ उनले वक्तव्यमा भनेकी छन्।

ल्हमुले आफूविरुद्ध पार्टीभित्रैबाट विभिन्न षड्यन्त्र र दबाब सिर्जना गरिएको आरोप पनि लगाएकी छन्। राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयास भएको तथा आफ्नो आत्मबल कमजोर बनाउन निरन्तर गतिविधि गरिएको उनको दाबी छ।

उनको वक्तव्य जस्ताको त्यस्तै:

आफू बाहेक अरू कसैको अस्तित्व, क्षमता र योगदानलाई स्वीकार गर्न नसक्ने मानसिकताका कारण मैले आफ्नो कार्यकालभरि असंख्य पीडा, अपमान, निषेध र षड्यन्त्रहरू सहनुपर्‍यो। हरेक पाइलामा रोक्ने, हरेक प्रयासमा अवरोध खडा गर्ने र अरूलाई अगाडि बढेको देख्न नसक्ने अपराधी मानसिकतासँग अब सँगै यात्रा गर्न सम्भव छैन।

जहाँ युवाको विचारलाई निषेध गरिन्छ, नयाँ पुस्ताको आवाजलाई दबाइन्छ, सामान्य मानवीय व्यवहारसमेत गरिँदैन, त्यस्तो वातावरणबाट म आज मुक्त हुन चाहन्छु। मैले कुन हदसम्मको पीडा भोगेको छु भन्ने कुरा मलाई मात्र थाहा छ। ती पीडाहरू यति गहिरा छन् कि आज पनि शब्दहरूले पूर्ण रूपमा बयान गर्न सकिरहेका छैनन्।

मेरो विरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, मेरो आत्मबल कमजोर पार्ने, मलाई राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भए। तर भाग्यवश मेरो आत्मविश्वास र संघर्षशीलताले ती सबै षड्यन्त्रहरूको सामना गर्‍यो। अन्यथा मलाई समाप्त गर्न कुनै कसर बाँकी राखिएको थिएन।

मलाई थाहा छ, यो निर्णयपछि कतिपयले अवसरवादी भन्नेछन्, आलोचना गर्नेछन् र अनेक आरोप लगाउनेछन्। तर अवसरवादीको आरोप लगाउनुभन्दा पहिले कृपया मेरो पार्टीभित्रको पृष्ठभूमि, संघर्ष र यात्रालाई एकपटक अध्ययन गर्नुहोला। मैले आजसम्म पाएको कुनै पनि जिम्मेवारी मागेर, दाबी गरेर वा दबाब दिएर पाएको होइन। समयले मेरो काँधमा जिम्मेवारी राखिदिएको थियो, र मैले त्यसलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास मात्र गरेको हुँ। त्यसैले सबैलाई एउटै तराजुमा जोख्ने प्रयास कसैले नगरोस् भन्ने विनम्र आग्रह गर्दछु।

म सही छु कि गलत, त्यसको अन्तिम फैसला समयले गर्नेछ। समयभन्दा ठूलो न्यायाधीश कोही हुँदैन। मैले गरेको संघर्ष, योगदान र समर्पणको मूल्याङ्कन पनि समयले अवश्य गर्नेछ भन्ने विश्वास राखेको छु।

पार्टीका इमानदार नेता, कार्यकर्ता, शुभेच्छुक तथा मेरो यात्रामा निरन्तर साथ, विश्वास र हौसला दिने सम्पूर्ण साथीहरूप्रति म हृदयदेखि नै आभारी छु। तपाईंहरूले दिएको साथ, विश्वास, अवसर र मायालाई म जीवनभर बिर्सने छैन। त्यसका लागि म सधैँ ऋणी रहनेछु।

तर एउटा पीडित र पीडा दिने मानसिकता एउटै छानामुनि बसेर लामो समयसम्म सहयात्रा गर्न सक्दैन। केही व्यक्तिहरूले गरेको अन्याय, अत्याचार र निषेधको सीमा नाघेपछि आजको यो निर्णय मेरो रहर होइन, बाध्यता बनेको हो। इमानदारीको जगमा उभिएको मेरो अस्तित्व अपराधी मानसिकतासँग सम्झौता गरेर बाँच्न सक्दैन।

समाज बदल्ने र देश बदल्ने सङ्कल्प बोकेर धेरै कुरा त्याग गरेर हिँडेको म, जब त्यही सपना र उद्देश्य पूरा गर्ने बाटोमा निषेध, अवरोध र अपमान खडा गरिन्छ, तब त्यस्ता मानसिकतासँग सम्झौता गरेर बस्नुभन्दा तिनीहरूलाई छोडेर अगाडि बढ्नु नै उचित हुन्छ।

म काम गर्ने मान्छे हुँ। मलाई सधैँ अपमान र अमानवीय व्यवहार होइन, आत्मसम्मान र मेरो अस्तित्वको सम्मान चाहिन्छ। जहाँ विचार, योगदान र संघर्षको कदर हुँदैन, त्यहाँ बसिरहनुभन्दा आफ्नो बाटो रोज्नु नै सही निर्णय हो।

अझै धेरै लामो यात्रा गर्न बाँकी छ। अझै धेरै संघर्षहरू गर्न बाँकी छन्। तर ती संघर्षहरू म स्वतन्त्र भएर, आत्मसम्मानका साथ र सहज रूपमा गर्न चाहन्छु; हरेक दिन षड्यन्त्रको सिकार भएर होइन।

त्यसैले आजकै मितिदेखि पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भई स्वतन्त्र रहने निर्णय गरेको घोषणा गर्दछु। मलाई यो निर्णय लिन बाध्य बनाउने सङ्कीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ।

कर्णाली प्रदेश पार्टी, केन्द्रीय पार्टी तथा सम्पूर्ण साथीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँसम्म आइपुग्न मैले पाएको अवसर, विश्वास र जिम्मेवारीलाई म सधैँ सम्मानका साथ स्मरण गर्नेछु।

अन्त्यमा, मेरो व्यवहार, बोली वा कार्यशैलीबाट कसैको मन दुखेको भए क्षमाप्रार्थी छु। मेरा कुनै कमजोरी वा त्रुटि भएका भए त्यसका लागि माफी चाहन्छु। माफ गर्नुहोला, अब म आफ्नो आत्मसम्मान, विवेक र स्वतन्त्र चेतनामाथि निरन्तर प्रहार गर्ने मानसिकतासँग सहयात्रा गर्न सक्दिनँ। आजदेखि म स्वतन्त्र छु। आफ्नो विचार, आफ्नो आत्मसम्मान र स्वतन्त्रताको साससँग।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *