सुधन गुरुङबारेको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ? : कांग्रेस (भिडियो)
काठमाडौं । नेपाली कांग्रेसले सुधन गुरुङसँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद भरत खड्काले उक्त प्रतिवेदनबारे सरकार मौन रहेको भन्दै तत्काल सार्वजनिक गर्न माग गरे।
सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत र सेयर संरचनाबारे प्रश्न उठेको थियो। त्यसपछि सरकारले विषयमा छानबिन गर्न समिति गठन गरेको थियो। उक्त समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको एक साता बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नभएको कांग्रेसको भनाइ छ।
कांग्रेसले छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्नुपर्ने माग गर्दै पारदर्शिता सुनिश्चित गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताएको छ।
यसैबीच, प्रतिवेदन बुझाइसकेपछि सुधन गुरुङ पुनः गृहमन्त्री बनेको विषय पनि संसदमा उठेको छ। तर, उनीसँग सम्बन्धित छानबिन प्रतिवेदन भने अझै सार्वजनिक नगरिएकोप्रति कांग्रेसले आपत्ति जनाएको छ।
