मेचीनगरमा हात्ती आतंकले जनजीवन प्रभावित, दीर्घकालीन समाधानको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा देखिएको हात्तीको आतंकले स्थानीयको दैनिकी अत्यन्तै प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद डाँगीले हात्तीको आक्रमणका कारण सर्वसाधारणको जीवन जोखिममा परेको बताइन् । उनले आइतबार मात्र ६२ वर्षीया पद्मा पौडेलको आफ्नै घरको आँगनमा फूल टिप्ने क्रममा हात्तीको आक्रमणबाट ज्यान गएको घटना उल्लेख गरिन् ।
त्यसैगरी उनले मेचीनगर क्षेत्रमा करिब ३ बिगाहा क्षेत्रफलमा लगाइएको मकै बाली हात्तीले नष्ट गरेको जानकारी दिइन् । वर्षौँदेखि समस्या दोहोरिँदै आएको भए पनि प्रभावकारी समाधान नभएको उनको गुनासो थियो ।
उनका अनुसार बाहुनडाँगी क्षेत्रमा विगत ३५ देखि ४० वर्षदेखि हात्तीको समस्या निरन्तर रहँदै आएको छ । रातिको समयमा दर्जनौँ हात्ती बस्तीमा प्रवेश गर्ने, धान, मकै, सुपारीजस्ता बाली नष्ट गर्ने र घरगोठमा समेत क्षति पुर्याउने गरेको उनले बताइन् ।
सांसद डाँगीले बस्तीमै हात्ती प्रवेश गर्दा स्थानीयले आफूहरू राज्यको उपस्थिति नै नभएको जस्तो महसुस गरिरहेको टिप्पणी गरिन् । उनले समस्या समाधानका नाममा तत्कालीन र प्रभावकारी कदम नचालिए जनजीवन अझै जोखिममा पर्ने चेतावनी दिइन् ।
उनले बाहुनडाँगीलाई ‘हात्ती चरन क्षेत्र’ जस्तै बनाउने प्रवृत्तिमाथि समेत प्रश्न उठाउँदै त्यसमा संलग्न हुनेहरूमाथि कारबाहीको माग गरिन् ।
यसअघि पनि संसद्मा वन्यजन्तु र मानवबीचको द्वन्द्वका विषय उठ्दै आएका छन् । विशेषगरी बाँदर आतंक, जंगली जनावरको आक्रमण र क्षतिपूर्ति व्यवस्थापनबारे सांसदहरूले निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
