`

यार्सागुम्बा उत्पादन गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण

Nepal One HD १ असार २०८३ १२:३७
समाचार

काठमाडौं । नेकपाका सांसद धनबहादुर बुढाले कर्णाली क्षेत्रको प्रमुख आर्थिक आधार मानिने यार्सागुम्बा उत्पादन गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यार्सागुम्बा उत्पादन घट्दै जाँदा डोल्पासहित १२ वटा हिमाली जिल्लाका हजारौँ परिवारको वार्षिक आम्दानी प्रभावित भएको बताए ।

उनका अनुसार जलवायु परिवर्तन, अव्यवस्थित सङ्कलनलगायत कारणले यस वर्ष यार्सागुम्बा उत्पादन करिब ६० प्रतिशतले घटेको अनुमान गरिएको छ । उत्पादनमा आएको गिरावटले जडीबुटी क्षेत्र मात्र नभई समग्र हिमाली अर्थतन्त्र नै संकटमा पारेको उनले उल्लेख गरे ।

सांसद बुढाले यार्सागुम्बा उत्पादन घट्नुले हिमाली क्षेत्रमा भोकमरीको जोखिम समेत बढाउँदै लगेको चेतावनी दिए ।

उनले सरकारसँग यार्सा सङ्कलकहरूको सुरक्षा सुनिश्चित गर्न, दिगो बजार व्यवस्थापन गर्न र प्रभावित परिवारलाई राहत उपलब्ध गराउन माग गरे । साथै, स्थानीय स्तरमै प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

यार्सागुम्बा कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाहरूको महत्वपूर्ण आम्दानी स्रोत मानिन्छ ।

उत्पादनमा आएको गिरावटले स्थानीय अर्थतन्त्र र जीविकोपार्जनमा प्रत्यक्ष असर पार्ने भन्दै सरोकारवालाहरूले पनि दीर्घकालीन संरक्षण रणनीति आवश्यक रहेको बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *