`

प्रधानमन्त्री बालेनको बोली तत्काल सुधार नभए आन्दोलनको स्वरूप फेर्ने चेतावनी

Nepal One HD २ असार २०८३ ११:३७
बिशेष

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सच्याउन माग गर्दै तत्काल सुधार नभए आन्दोलनको स्वरूप परिवर्तन गर्ने चेतावनी दिएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टीका सांसद प्रमेश हमालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई सच्याउनुपर्ने र संसदीय अभिलेखबाट हटाउनुपर्ने माग पुनः दोहोर्याएका छन्। उनका अनुसार लामो समयदेखि माग उठाइए पनि अपेक्षित निर्णय नआएको भन्दै असन्तुष्टि बढिरहेको छ।

विपक्षी दलका सांसदहरूले संसद् बैठकको सुरुवातमा उठेर विरोध जनाउने र त्यसपछि बैठक सञ्चालन गर्न दिने अभ्यास गर्दै आएका छन्। तर, माग सम्बोधन नभए विरोधको शैली परिवर्तन गर्न बाध्य हुने चेतावनी समेत उनीहरूले दिएका छन्।

सांसद हमालले भने, ‘हामीले भनिरहेका छौँ यो संसद्को रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाइयोस्। यतिका दिन भइसक्यो तर प्रतिफल अपेक्षित आएको छैन। त्यसैले गर्दाखेरि हामीले विरोध जारी राख्नुपरेको छ। हामीले विरोधको यो रूप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो, सभामुखले यथाशीघ्र रुलिङ गर्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *