मुख्यमन्त्रीलाई ज्यान मार्ने धम्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई पटक-पटक ज्यानमार्ने धम्की आउने गरेको खुलासा गरेका छन्।
उनले केही धम्कीहरू राजनीतिक असन्तुष्टि, बजेट वितरण र कामसम्बन्धी असहमति जस्ता कारणले आउने गरेको बताउँदै त्यस्ता एसएमएसलाई सामान्य रूपमा लिए पनि बारम्बार ज्यानमार्ने धम्की आउने अवस्थालाई भने गम्भीर अपराधका रूपमा लिएको बताएका छन्।
प्रदेश प्रहरी कार्यालयमा आयोजित अपराध समीक्षा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री कार्कीले आफूले प्राप्त धम्कीबारे प्रहरी र साइबर ब्युरोमा उजुरी दिए पनि कारबाही अघि नबढेकोमा असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘मलाई पनि धम्की आइरहन्छ। कसैले बजेट नदिएको, कतिले राजनीतिक पूर्वाग्रह राखेर, अनि कतिले भनेको काम नभएको भन्दै धम्क्याइरहन्छन्। लोभलालच देखाएर पनि एसएमएस पठाउँछन्। ती कुरालाई म गम्भीर अपराधका रूपमा लिन्नँ। मलाई पटक–पटक ज्यानमार्ने धम्की आएपछि चाहिँ प्रहरीमा उजुरी दिन बाध्य भएको थिएँ, तर कुनै कारबाही अगाडि बढेन।’
मुख्यमन्त्री कार्कीले उच्च पदस्थ व्यक्तिहरूलाई मोबाइलमा आउने एसएमएसलाई सामान्य सुझावका रूपमा लिन सकिने भए पनि त्यसलाई आधार बनाएर कानुनी कारबाहीको नाममा चरम कदम चाल्नु उचित नहुने धारणा राखे।
उनले अप्रत्यक्ष रूपमा प्रधानमन्त्री र सचिवबीचको एउटा घटनातर्फ संकेत गर्दै राजदूत नियुक्तिसम्बन्धी विषयमा आएको एसएमएसका कारण उच्च सरकारी अधिकारीलाई पक्राउ गर्ने शैलीमाथि प्रश्न उठाए।
उनले भने, ‘मोबाइलमा एसएमएस आएकै कारण सोझै पक्राउ गरेर थुन्न थालियो भने दण्डहीनता के होला र प्रहरीले कस्तो विश्वास आर्जन गर्ला ?’
मुख्यमन्त्री कार्कीले प्रदेशस्तरमा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन फरेन्सिक र डिजिटल ल्याब आवश्यक रहेको बताए। तर संघीय संरचना र प्रहरी समायोजन प्रक्रियाका कारण आवश्यक पूर्वाधार विकासमा कठिनाइ भइरहेको उनको भनाइ छ।
उनका अनुसार कोशी प्रदेश प्रहरी कार्यालयको नयाँ भवन प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरेको हो। प्रदेश सरकारले केही सवारीसाधन उपलब्ध गराए पनि संघीय सरकारको समन्वय अभावका कारण थप सहयोग र बजेट व्यवस्थापनमा समस्या आएको उनले बताए।
उक्त कार्यक्रममा सीआईबीका एआईजी सुशीलसिंह राठौर, अपराध अनुसन्धान महाशाखाका एसएसपी मुकुन्द मरासिनी, मोरङ अदालतका न्यायाधीश दुर्गाबहादुर भुसाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो।
प्रदेशभरिका अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू पनि कार्यक्रममा सहभागी थिए।
