`

ई-पासपोर्ट खरिद अनियमितता प्रकरण : आरजू-जयवीर सहितको नाम मुछियो

Nepal One HD २ असार २०८३ १४:३४
प्रमुख खबर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको अनुसन्धानका क्रममा राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याललाई पक्राउ गरेको छ।

उनीसँगै केही उच्च सरकारी अधिकारीहरूलाई समेत निगरानीमा राखिएको स्रोतले जनाएको हो।

मंसिर २०८१ मा राहदानी विभागले ६४ लाख थान ई-पासपोर्ट खरिदका लागि आह्वान गरेको टेण्डर प्रक्रियामा निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी सर्त राखिएको भन्दै विवाद उत्पन्न भएको थियो।

प्रतिस्पर्धा सीमित गरिएको आरोपसहित विभिन्न निकायमा उजुरी परे पनि विभागले करिब ७ अर्ब ६६ करोड रुपैयाँ बराबरका दुई ठेक्का सम्झौता गरेको बताइएको छ।

अख्तियारमा परेको उजुरीमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा, उनका छोरा जयवीर देउवा, व्यवसायी मनिन्द्रराज मल्ल, तत्कालीन राष्ट्रपति कार्यालयका राजनीतिक सल्लाहकार सुनिल थापा लगायतको नाम उल्लेख गरिएको दाबी छ। यद्यपि उनीहरूको संलग्नताबारे औपचारिक पुष्टि भने भएको छैन।

थापाको प्रत्यक्ष संलग्नता नदेखिए पनि उनका छोरा सिद्धार्थ थापाको भूमिकाबारे अनुसन्धान भइरहेको बताइएको छ। अख्तियारले केही व्यवसायी तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूमाथि पनि निगरानी बढाएको छ।

अनुसन्धानका क्रममा प्रकरणले थप नयाँ मोड लिन सक्ने संकेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *