अमेरिकी बी-५२ बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु
एजेन्सी। अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एडवर्ड्स एयरफोर्स बेसमा अमेरिकी वायुसेनाको बी–५२ स्ट्राटोफोर्ट्रेस बमवर्षक विमान दुर्घटना हुँदा जहाजमा सवार सबै आठ जनाको मृत्यु भएको छ।
उडान भरेको केही समयमै विमान भुइँमा खस्दा भीषण दुर्घटना भएको हो।
एडवर्ड्स एयरफोर्स बेसले जारी गरेको प्रारम्भिक विवरणअनुसार दुर्घटना अत्यन्तै गम्भीर प्रकृतिको थियो र घटनास्थलमै कोही पनि जीवित रहने सम्भावना नरहेको देखिएको थियो। बेसका कर्णेल जेम्स हेसले पत्रकार सम्मेलनमा भने, ‘आज एडवर्ड्स एयरफोर्स बेसले एउटा भयानक त्रासदी भोगेको छ। हामीले आठ जना महान् अमेरिकीहरूलाई गुमाएका छौं।’
विमानमा सैन्य कर्मचारी, सरकारी नागरिक कर्मचारी तथा रेडार आधुनिकीकरण कार्यक्रमअन्तर्गत परीक्षण मिसनमा सहयोग गरिरहेका कन्ट्र्याक्टरहरू सवार थिए। विमान निर्माता कम्पनी बोइङका दुई कर्मचारी पनि यात्रु सूचीमा रहेको पुष्टि भएको छ। कम्पनीले मृतकका परिवारसँग सम्पर्कमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।
लस एन्जलसबाट करिब १०० माइल उत्तरपूर्व मोजावे मरुभूमिमा रहेको एडवर्ड्स एयरफिल्डमा स्थानीय समय अनुसार बिहान ११:२० बजे दुर्घटना भएको हो। नियमित परीक्षण उडानमा रहेको विमान खस्नेबित्तिकै ठूलो विस्फोट र आगलागी भएको थियो। प्रारम्भिक हवाई दृश्यहरूमा घटनास्थलमा जमिनमा ठूलो जलेको क्षेत्र र बाक्लो धुवाँ देखिएको छ।
दुर्घटनापछि एयरफिल्ड पूर्ण रूपमा बन्द गरिएको छ भने त्यहाँका सबै उडानहरू अन्य विमानस्थलतर्फ मोडिएका छन्। आपतकालीन उद्धार तथा सुरक्षा कार्यलाई प्राथमिकता दिन सबै गैर–आवश्यक भिजिटर पासहरू पनि अनिश्चितकालका लागि स्थगित गरिएको छ।
बी–५२ स्ट्राटोफोर्ट्रेस लामो दूरीमा भारी हतियार बोक्न सक्ने रणनीतिक बमवर्षक विमान हो। हालसम्म दुर्घटनाको वास्तविक कारण स्पष्ट हुन सकेको छैन।
अधिकारीहरूका अनुसार विस्तृत अनुसन्धानका लागि कम्तीमा छ महिनाभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ।
