हर्कको विरोधपछि मनिष झाले पाठ पढाउँदै गरे ‘बालहठ नगर्न’ आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लाई ‘बालहठ’ नगर्न आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै हर्क साम्पाङ उठेर विरोध गरेपछि सांसद झा ले नियमावली उद्धृत गर्दै प्रतिक्रिया दिएका हुन्।
झाले प्रतिनिधिसभा नियमावलीको दफा ५४ र ५५ उल्लेख गर्दै प्रश्नोत्तर सम्बन्धी प्रक्रिया स्पष्ट रहेको बताए। उनका अनुसार सभामुखको क्षेत्राधिकारभित्र प्रश्न व्यवस्थापन तथा उत्तर दिने वा नदिने निर्णय गर्ने व्यवस्था रहेको छ। उनले मन्त्रीले आवश्यक ठानेमा केही प्रश्नको जवाफ नदिन सक्ने प्रावधान पनि नियममै रहेको उल्लेख गरे।
झाले भने, ‘पटक–पटक वादविवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भन्न मिल्दैन।’ साथै उनले नियम र कानुन स्पष्ट भएकाले त्यसलाई अध्ययन गर्नुपर्ने भन्दै ‘बालहठ नगर्न’ आग्रह गरेका थिए।
उनले थप भने, ‘नियम पढ्नुस्, पेज नम्बर ३२ मा दफा ५४ र ५५ मा स्पष्ट लेखिएको छ।’
विवाद बढ्दै गएपछि सभामुखले बैठकमा शान्त रहन र बस्न निर्देशन दिएका थिए। तर विरोध जारी रहेपछि सभामुखले कार्यसूचीअनुसार बैठक अघि बढाएका थिए।
