प्रधानमन्त्रीले सीमा मिचेको प्रमाण दिइयाेस् र रेकर्डबाट अभिव्यक्ति हटाइयाेस् : केरुङ
काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले राष्ट्रियता, सीमा विवाद, गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन, मानव अधिकार आयोगको प्रतिवेदन तथा मन्त्रीहरूकाे धम्कीपूर्ण अभिव्यक्तिबारे सरकारसँग जवाफ मागेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रोष्ट्रमबाटै दिएको सीमा सम्बन्धी अभिव्यक्ति विवादास्पद रहेको भन्दै त्यसको प्रमाण सार्वजनिक गर्न वा अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे। उनले गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिन समितिले कसरी सफाइ दिएको हो भन्ने विषयमा संसद र जनतालाई जानकारी गराउनुपर्ने बताए।
सांसद केरुङले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। साथै पत्रकार सीताराम बरालले प्रधानमन्त्री कार्यालय परिसरबाट फेसबुक लाइभमार्फत सार्वजनिक गरेकाे घटनाबारे पनि गम्भीर प्रश्न उठाए।
उनले अख्तियार प्रमुख प्रेमुकमार राईलाई थुन्ने र प्रधानमन्त्री कार्यालयबाट पक्राउ पुर्जी जारी गर्ने जस्ता विषय सार्वजनिक भएको उल्लेख गर्दै त्यसको सत्यतथ्य छानबिनका लागि आयोग गठन गर्न माग गरे। अन्यथा प्रधानमन्त्री स्वयंले संसदलाई यथार्थ जानकारी गराउनुपर्ने उनको भनाइ थियो।
केरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग संवैधानिक निकाय भएकाले त्यसको स्वतन्त्रता र निर्णयको सम्मान हुनुपर्ने बताउँदै सरकारले यस विषयमा तत्काल जवाफ दिनुपर्ने माग गरे।
