`

ठेकेदारको ‘खुट्टा भाँचिदिने’ अभिव्यक्तिमा मन्त्री लम्सालको स्पष्टीकरण : ‘उद्देश्य काम गराउने हो’

Nepal One HD ४ असार २०८३ १५:३२
राजनीति

काठमाडौं । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ठेकेदारलाई ‘खुट्टा भाँचिदिने’ अभिव्यक्ति दिएको विषयमा प्रतिनिधिसभामा स्पष्टीकरण दिएका छन्। उनले उक्त अभिव्यक्तिको उद्देश्य कसैलाई धम्क्याउनु नभई निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिनु रहेको बताएका छन्।

केही दिनअघि पृथ्वी राजमार्गअन्तर्गत धादिङको मुग्लिन–मलेखु खण्डको अनुगमनका क्रममा मन्त्री लम्सालले सडक विस्तारमा अवरोध बनेका विद्युत्का पोल नसारिएको भन्दै ठेकेदारको ‘खुट्टा भाँचिदिन’ निर्देशन दिएको भिडियो सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो। त्यसअघि उनले ठेकेदार रमेश शर्मालाई प्रहरीमार्फत मन्त्रालयमा बोलाएको विषय पनि चर्चामा आएको थियो।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद ऐन महरले मन्त्रीसँग यस विषयमा जवाफ मागेका थिए।

‘ठेकेदारको खुट्टा भाँच्ने आदेश कानुनसम्मत थियो कि थिएन ? दाहिने खुट्टा भाँच्ने कि देब्रे ? मन्त्रीको हैसियतमा यस्तो आदेश दिन मिल्छ कि मिल्दैन ?’ भन्दै महरले प्रश्न गरेका थिए। उनले ठेकेदारलाई मन्त्रालयमा बोलाएर धाकधम्की दिएको विषय पनि कानुनअनुसार भए–नभएको स्पष्ट पार्न माग गरेका थिए।

सांसद महरको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले आफूले दिएको अभिव्यक्तिलाई गलत अर्थ लगाइएको दाबी गरे। ‘ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो। इन्टेन्सन त्यो होइन। इन्टेन्सन नितान्त काम गरोस् भन्ने हो,’ उनले भने।

मन्त्री लम्सालले निर्माण व्यवसायीहरूले सम्झौताअनुसार काम नगरे ठेक्का रद्द हुने, बैंक ग्यारेन्टी जफत हुने र कानुनी रूपमा रकम असुलउपर गरिने अवस्था आउने बताए। त्यसले व्यवसायीहरूलाई दीर्घकालीन असर पुग्ने भएकाले काम सम्पन्न गराउन दबाब सिर्जना गरिएको उनको भनाइ थियो।

‘उहाँहरूले काम गर्नुभएन भने ठेक्का रद्द गर्नुपर्छ, बैंक ग्यारेन्टी थुतिन्छ। त्यसपछि जसरी पनि असुलउपर हुन्छ। त्यसले उहाँहरूलाई अझ ठूलो समस्या पर्न सक्छ,’ मन्त्री लम्सालले भने।

उनले निर्माण कम्पनीहरूमाथि कडा कारबाही गर्दा भविष्यमा विकास आयोजनाका लागि काम गर्ने कम्पनीहरूको संख्या घट्न सक्ने पनि बताए। ‘हाम्रा लागि काम गर्ने कम्पनी कम हुन्छन्। त्यसैले बढीभन्दा बढी दबाब दिएर काम गराउन खोजिएको हो। उद्देश्य त्यही हो,’ उनले भने।

मन्त्री लम्सालले आफू कसैलाई गाली गर्ने वा धम्क्याउने पक्षमा नरहेको उल्लेख गर्दै निर्माण व्यवसायीहरूले समयमै काम सम्पन्न गरे सरकारलाई कुनै समस्या नहुने बताए। ‘खुरुखुरु काम गरिदिए हामी चुपचाप बस्छौँ, खुसी हुन्छौँ। आशय त्यही हो। उहाँहरूलाई बचाउनकै लागि त्यो गरिएको हो,’ उनले स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *