अख्तियारमाथि प्रधानमन्त्री कार्यालयबाट दबाब दिइएको हो ? – सांसद बुढा
काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि प्रधानमन्त्री कार्यालयबाट दबाब दिइएको भन्ने विषयप्रति गम्भीर आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अख्तियारका प्रमुखसहितका अधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयसम्म राखेर पक्राउ पुर्जी जारी गर्न दबाब दिएको भन्ने आरोप सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे स्पष्ट जवाफ माग गरे।
सिंहदरबारभित्र संवैधानिक निकायहरूमाथि हस्तक्षेप हुने अवस्था सिर्जना भएको हो कि भन्ने आशंका व्यक्त गर्दै उनले राज्य संयन्त्रलाई प्रभावित पार्ने प्रयास लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत हुने बताए।
बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र संवैधानिक निकाय भएकाले उसले कुनै पनि व्यक्ति वा निकायमाथि कानुनअनुसार छानबिन गर्न पाउनुपर्ने धारणा राखे। भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने उनको भनाइ थियो।
‘अख्तियार कुनै सरकारी कार्यालयको मातहतमा रहने निकाय होइन, यो संविधानले व्यवस्था गरेको स्वतन्त्र संवैधानिक अङ्ग हो,’ उनले भने, ‘यसको जिम्मेवारी राज्य शक्तिमाथि निगरानी राख्ने र सन्तुलन कायम गर्ने पनि हो।’
उनले संवैधानिक निकायलाई प्रभावमा पार्ने वा दबाब दिने प्रयास भए त्यसले सुशासन र विधिको शासनमाथि नै प्रश्न उठाउने जिकिर गरे।
सांसद बुढाले प्रधानमन्त्री कार्यालयबाट अख्तियारलाई प्रभावित पार्ने प्रयास भएको भन्ने आरोपबारे सरकारले संसद्मा स्पष्ट धारणा राख्नुपर्ने मागसमेत गरेका छन्।
