`

गगनले दिए रवि र रास्वपालाई शुभकामना, पार्टीलाई वैचारिक रुपमा स्पष्ट गर्न सुझाव

Nepal One HD ७ असार २०८३ ८:१७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको अवसरमा सभापति रवि लामिछाने र सम्पूर्ण रास्वपा परिवारलाई शुभकामना दिएका छन्।

आइतबार शुभकामना सन्देश जारी गर्दै थापाले पार्टी स्थापनाको छोटो अवधिमै उल्लेखनीय जनसमर्थन हासिल गर्दै रास्वपाले राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति स्थापित गरेको बताएका छन्।

‘पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ,’ थापाले सन्देशमा भनेका छन्।

रास्वपाको पहिलो महाधिवेशनलाई उनले नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको वैचारिक दिशा, संगठनात्मक सुदृढीकरण र भावी राजनीतिक मार्गचित्र तय गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।

‘यो महाधिवेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्‍व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर हो,’ उनले उल्लेख गरेका छन्।

थापाले महाधिवेशनले लोकतान्त्रिक मूल्य र संविधानप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन्।

‘यो महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएको छु,’ सन्देशमा भनिएको छ।

थापाले सभापति रवि लामिछानेको आगामी राजनीतिक यात्रा सफल रहोस् भन्ने कामना गर्दै रास्वपाको प्रथम महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिएका छन्।

चितवनमा आजदेखि सुरु भएको रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको मार्गनिर्देशक सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र आगामी कार्यक्रमिक रणनीति तय गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *