रास्वपामा २१ नेतालाई स्वतः केन्द्रीय सदस्य बनाउने प्रस्ताव
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा संस्थापक २१ नेतालाई स्वतः केन्द्रीय सदस्य बनाउने विषयमा महाधिवेशनमा छलफल भएको छ।
यद्यपि यसबारे अन्तिम निर्णय भने भइनसकेको पार्टी स्रोतले जनाएको छ।
पार्टीका एक नेताका अनुसार संस्थापक केन्द्रीय सदस्यहरूलाई भविष्यमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्न नपर्ने व्यवस्था गर्ने प्रस्तावसमेत छलफलमा आएको छ।
यस विषयमा पार्टी सभापतिले आवश्यक विवेक पुर्याएर निर्णय गर्ने विश्वास व्यक्त गरिएको छ। विधानअनुसार सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने व्यवस्था पार्टीमा रहेको छ।
यसैबीच, रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरमा सुरु भएको छ। महाधिवेशन असार ९ गतेसम्म सञ्चालन हुने बताइएको छ।
पार्टीले यसलाई संगठनात्मक संरचना मजबुत बनाउने र आगामी राजनीतिक दिशाबारे निर्णय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
