रास्वपाको पहिलो महाधिवेशन घण्टी बजाएर उद्घाटन
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
उद्घाटनसँगै रास्वपाको संगठनात्मक भविष्य, नेतृत्व चयन र राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण छलफल सुरु भएको छ।
महाधिवेशनको उद्घाटन सत्रको सञ्चालन महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरेका थिए। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, प्रतिनिधि तथा देशभरबाट आएका महाधिवेशन प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको छ।
रास्वपाको स्थापना पश्चात् पहिलो पटक आयोजित यो महाधिवेशनलाई पार्टीका लागि ऐतिहासिक अवसरका रूपमा हेरिएको छ। महाधिवेशनमा संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति, विधान संशोधन, नेतृत्व संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
तीन दिनसम्म सञ्चालन हुने महाधिवेशन असार ९ गतेसम्म चल्नेछ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्ययोजनाबारे पनि महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
