`

संविधान, कानुन र स्थापित पद्धतिको सीमाभित्रै रहन रास्वपालाई नेकपाका नेता पुनको सुझाव

Nepal One HD ७ असार २०८३ १७:०५
बिशेष

चितवन। नेकपाका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र सुधारका नाममा अघि बढाइने अभियान संविधान, कानुन र स्थापित पद्धतिको सीमाभित्रै सञ्चालन गर्न सुझाव दिएका छन्।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नयाँ राजनीतिक शक्तिहरूप्रति जनतामा ठूलो आशा र अपेक्षा रहेको उल्लेख गरे। तर परिवर्तनको नाममा गरिने हरेक कदम विधिसम्मत र संवैधानिक दायराभित्र हुनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘थिति बसाउने, सुशासन कायम गर्ने र सुधारका कामहरू आवश्यक छन्। तर ती सबै संविधान र विधिको सीमाभित्र रहेर अघि बढ्नुपर्छ।’

नेता पुनले नेपाली समाजको राजनीतिक रूपान्तरण सहज प्रक्रियाबाट नभई लामो संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप सम्भव भएको स्मरण गराए। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न विभिन्न आन्दोलन र राजनीतिक संघर्षले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले वर्तमान व्यवस्थाको संरक्षण र सुदृढीकरणमा सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताए।

कार्यक्रममा उनले नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसकेको जानकारी गराउँदै अध्यक्षका तर्फबाट महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।

‘अध्यक्ष कमरेड प्रचण्ड स्वास्थ्यका कारण उपस्थित हुन सक्नुभएन। उहाँका तर्फबाट महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले भने।

पुनले रास्वपा र नेकपाको राजनीतिक पृष्ठभूमि, विचार र कार्यशैली फरक भए पनि सुशासन, पारदर्शिता र समाज रूपान्तरणका विषयमा धेरै समानता रहेको धारणा राखे। विगतमा पनि विभिन्न मुद्दामा दुई दलबीच सहकार्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि साझा एजेन्डामा सहकार्य सम्भव रहेको बताए।

उनले भने, ‘हामी सुशासनको पक्षमा छौँ र विगतमा पनि सहकार्य गरेका छौँ। अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा सहकार्य भएको छ। थिति बसाउने यहाँहरूको एजेन्डामा हाम्रो साथ रहनेछ।’

उनले राजनीतिक प्रतिस्पर्धा लोकतन्त्रको स्वाभाविक पक्ष भए पनि राष्ट्रिय हित, सुशासन र जनअपेक्षासँग जोडिएका विषयमा दलहरूबीच सहकार्य आवश्यक रहेको बताए। देशको विकास, सुशासन र लोकतान्त्रिक संस्थाको सुदृढीकरणका लागि सबै राजनीतिक शक्तिले साझा जिम्मेवारीबोध गर्नुपर्ने उनको भनाइ थियो।

चितवनको भरतपुरमा सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गरिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *