विश्वकप २०२६ : प्रारम्भिक चरणमै ८ रातो कार्ड
काठमाडौं। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा जारी फिफा विश्वकप २०२६ मा खेलाडी निष्कासन (रातो कार्ड) को संख्या प्रारम्भिक चरणमै उल्लेखनीय रूपमा बढेपछि विश्व फुटबल वृत्तमा अनुशासन र रेफ्री निर्णयबारे व्यापक बहस सुरु भएको छ।
प्रतियोगिता सुरु भएको छोटो समयमै ८ खेलाडीले रातो कार्ड पाइसकेका छन्। जुन सन् २०१८ को रसिया विश्वकप र सन् २०२२ को कतार विश्वकपमा देखिएका कुल रातो कार्ड (४–४) को संयुक्त बराबर संख्या हो।
विश्लेषकहरूका अनुसार विश्वकपजस्तो उच्च दबाबको प्रतियोगितामा यस्तो तीव्र वृद्धि सामान्य होइन र यसले आगामी चरणहरूमा खेलको शैली, रणनीति र नतिजामा समेत असर पार्न सक्ने देखिन्छ।
समूह ‘सी’ अन्तर्गत भएको बेल्जियम र इरानबीचको खेलमा बेल्जियमका डिफेन्डर नाथन न्गोय ६६औँ मिनेटमा सिधै रातो कार्ड पाएपछि कुल संख्या ८ पुगेको हो।
इरानका फरवार्ड मेहदी तात्सुमीलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्ने क्रममा गरिएको फउललाई रेफ्रीले ‘डिनायल अफ एन अब्भियस गोल स्कोरिङ अपर्चुनिटी’ (स्पष्ट गोल अवसर रोकिएको अवस्था) मानेर सिधै रातो कार्ड दिएका थिए।
१० खेलाडीमा सीमित भए पनि बेल्जियमले उक्त खेल गोलरहित बराबरीमा टुंग्याएको थियो।
अधिकांश रातो कार्ड सिधै रेफ्री निर्णयबाट
हालसम्म देखाइएका ८ रातो कार्डमध्ये ६ वटा सिधै रेफ्रीको निर्णयबाट आएका छन् भने बाँकीमा भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा निर्णायक बनेको छ।
यसले रेफ्रीहरूको कडा व्याख्या, खेलाडीहरूको आक्रामक शैली र भीएआर प्रविधिको प्रभाव एकैसाथ देखिएको विश्लेषकहरूको निष्कर्ष छ।
यस संस्करणमा केही चर्चित खेलाडीहरू पनि निष्कासनमा परेका छन्।
पाराग्वेका मिडफिल्डर मिगेल अल्मिरोन टर्कीविरुद्धको खेलमा भीएआर समीक्षा पछि रातो कार्ड पाएर मैदान छाड्न बाध्य भए।
त्यस्तै कतारका असिम मादिबो र मोआज अहमद क्यानडाविरुद्धको खेलमा निष्कासित भएका थिए।
बोस्निया एन्ड हर्जेगोभिनाका तारिक मुहरामोभिचले स्विट्जरल्यान्डका फरवार्ड ब्रेल एम्बोलोलाई स्पष्ट गोल अवसरबाट रोकेको घटनामा रातो कार्ड पाएका थिए।
जमैकाका वार हन्ट पनि दक्षिण अफ्रिकाविरुद्धको खेलको अन्तिम समयमा निष्कासित भएका थिए।
दक्षिण अफ्रिकी टोलीले यस विश्वकपमा अनुशासनको सबैभन्दा ठूलो समस्या भोगिरहेको देखिएको छ।
मेक्सिकोविरुद्धको उद्घाटन खेलमै टोलीका दुई खेलाडी थेम्बा ज्वाने र स्पेफेलो सिथोले रातो कार्ड पाएपछि टोली लामो समय ९ खेलाडीमा सीमित भएको थियो, जसले खेलको नतिजामा समेत गम्भीर असर पारेको बताइन्छ।
विश्वकप इतिहासमा रातो कार्डको संख्या समयअनुसार फरक देखिएको छ।
सन् १९९० मा १६, सन् १९९८ मा २२, र सन् २००६ मा २१ रातो कार्ड देखाइएको थियो, जसलाई आधुनिक विश्वकपको सबैभन्दा कडा संस्करणमध्ये एक मानिन्छ। सोही संस्करणको फाइनलमा जिनेदिन जिदानले इटालीका मार्को मातेरात्सीमाथि हेडबट गरेपछि रातो कार्ड पाएका घटना विश्व फुटबल इतिहासमै चर्चित बनेको थियो।
त्यसपछि सन् २०१० मा १७, सन् २०१४ मा १०, सन् २०१८ मा ४ र सन् २०२२ मा ४ रातो कार्ड मात्र देखिएको थियो।
तर यसपटक प्रारम्भिक चरणमै ८ रातो कार्ड पुगिसकेकाले पुराना केही कीर्तिमान तोडिन सक्ने सम्भावना बढेको छ।
किन बढ्दैछ रातो कार्ड ?
विश्लेषकहरूका अनुसार यसपटक रातो कार्ड बढ्नुमा तीन मुख्य कारण देखिन्छन्।
पहिलो, प्रतियोगिता विस्तारसँगै प्रतिस्पर्धा अझ तीव्र बनेको छ र प्रत्येक अंकको महत्व बढेको छ। दोस्रो, खेलाडी सुरक्षाका लागि रेफ्रीहरूलाई कडा निर्णय लिन निर्देशन दिइएको छ। तेस्रो, भीएआर प्रविधिको प्रयोगले पहिले नदेखिने फउलहरू पनि स्पष्ट रूपमा पत्ता लाग्न थालेका छन्।
विश्वकपका अझै धेरै खेलहरू बाँकी रहेकाले नकआउट चरणमा प्रवेशसँगै प्रतिस्पर्धा अझ कडा हुने अनुमान गरिएको छ। यसले भावनात्मक प्रतिक्रिया, रणनीतिक फउल र जोखिमपूर्ण ट्याकल बढाउन सक्ने देखिन्छ।
यदि यही प्रवृत्ति कायम रह्यो भने सन् २०१० को १७ रातो कार्ड र सन् २००६ को २१ रातो कार्डको कीर्तिमान चुनौतीमा पर्न सक्ने विश्लेषकहरूको आँकलन छ।
