`

निगमकै मिलेमतो : २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर गायब

Nepal One HD ९ असार २०८३ ११:५०
अर्थ समाचार

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरस्थित डिपोबाट २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर गायब भएको घटनाले इन्धन वितरण प्रणाली र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार कर्मचारी, चालक र ढुवानीकर्ताको मिलेमतोमा ठूलो परिमाणमा पेट्रोल अनधिकृत रूपमा बिक्री गरिएको आशंका गरिएको हो।

कञ्चनवारीस्थित डिपो पार्किङस्थलमा राखिएको नवीन ढुवानी सेवाको को१ख ६१९० नम्बरको ट्यांकर आइतबार राति करिब ८ बजेभित्र प्रवेश गरेको थियो। भारतको सिलगुढीबाट २० हजार लिटर पेट्रोल लिएर आएको उक्त ट्यांकर डिपोभित्र भण्डारणगृहमा इन्धन खन्याउन पालो कुरेर पार्किङमा राखिएको थियो।

तर सोमबार बिहान उक्त ट्यांकर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी सडकखण्डमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्यांकरमा प्रारम्भिक जाँच गर्दा करिब १ हजार २ सय लिटर मात्र पेट्रोल बाँकी रहेको पाइएको छ। बाँकी करिब १८ हजार ८ सय लिटर पेट्रोल गायब भएको देखिन्छ।

हालको बजार मूल्यअनुसार प्रति लिटर २१४ रुपैयाँ ५० पैसाका दरले हिसाब गर्दा गायब भएको पेट्रोलको मूल्य करिब ४० लाख रुपैयाँभन्दा बढी हुन आउँछ। प्रारम्भिक अनुमानअनुसार सो परिमाणको इन्धन अनधिकृत रूपमा विभिन्न पेट्रोल पम्प वा अन्य माध्यममार्फत बिक्री गरिएको हुन सक्ने आशंका गरिएको छ।

डिपो प्रमुख पुष्कर कार्कीका अनुसार घटनाबारे प्रहरी अनुसन्धान सुरु भइसकेको छ र ट्यांकरलाई आवश्यक मुचुल्कापछि डिपोमा ल्याउने तयारी भइरहेको छ। उनले घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै निगमले आन्तरिक छानबिन पनि अघि बढाउने बताए।

यो घटना पहिलो भने होइन। यसअघि पनि विराटनगर डिपोबाट पटक–पटक इन्धन लोड भएका ट्यांकरहरू गायब हुने तथा भित्रकै मिलेमतोमा पेट्रोल बेचिने घटना सार्वजनिक हुँदै आएका छन्। २०७८ भदौमा पनि ट्यांकर चोरी भएको घटना भएको थियो भने २०७५ र २०७७ मा समेत यस्तै प्रकृतिका घटनाहरू दोहोरिएका थिए।

प्रहरी स्रोतका अनुसार डिपो परिसर अग्लो पर्खाल र सुरक्षा घेराभित्र भए पनि यस्ता घटना दोहोरिनुले संगठित गिरोह सक्रिय रहेको संकेत गर्छ। सुरक्षाको उच्च घेराभित्रै ट्यांकर बाहिर निकालिनु र ठूलो परिमाणको इन्धन गायब हुनुमा सामान्य भरियाको मात्र संलग्नता हुन नसक्ने प्रहरीको प्रारम्भिक मूल्यांकन छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार यस प्रकारका घटनामा प्रायः आन्तरिक मिलेमतो बिना यति ठूलो परिमाणको इन्धन बाहिर निकाल्न सम्भव हुँदैन। विगतमा पनि यस्ता घटनामा कर्मचारीमाथि कारबाही कमजोर भएकाले पुनः दोहोरिने गरेको विश्लेषण गरिएको छ।

यसैबीच, आयल निगमभित्रै सुरक्षा व्यवस्था र व्यवस्थापन प्रणालीमाथि प्रश्न उठ्न थालेको छ। डिपोभित्रैबाट इन्धन लोड भएका ट्यांकरहरू हराउने घटनाले संस्थागत कमजोरी मात्र नभई सम्भावित संगठित चोरीको जालो रहेको आशंका थप बलियो बनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ भने निगमले पनि आन्तरिक छानबिन समिति गठन गर्ने तयारी गरेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *