`

मेटाले ल्यायो एआईयुक्त स्मार्ट चस्मा : के-के छ फिचर ?

Nepal One HD १० असार २०८३ १५:३०
विज्ञान-प्रविधि

काठमाडौं। कृत्रिम बौद्धिकता (एआई) प्रविधिलाई दैनिक जीवनसँग अझ नजिक ल्याउने प्रयासस्वरूप मेटाले आफ्नै डिजाइनमा आधारित नयाँ स्मार्ट चस्मा सार्वजनिक गरेको छ।

कम्पनीले ‘मेटा ग्लासेस’ नाम दिएको यो उत्पादनलाई भविष्यमा स्मार्टफोनको विकल्पका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीतिअन्तर्गत बजारमा ल्याएको बताइएको हो।

नयाँ स्मार्ट चस्माको प्रारम्भिक मूल्य २९९ अमेरिकी डलर तोकिएको छ, जुन हाल बजारमा उपलब्ध रे-ब्यान स्मार्ट चस्माको ३७९ अमेरिकी डलरको प्रारम्भिक मूल्यभन्दा कम हो। कम्पनीले कम मूल्यको विकल्पमार्फत थप उपभोक्तासम्म पुग्ने लक्ष्य लिएको जनाएको छ।

मेटाका प्रमुख प्रविधि अधिकृत एन्ड्र्यु बोस्वर्थ का अनुसार स्मार्ट चस्माको बजार विस्तार गर्न विभिन्न मूल्य समूहलाई लक्षित उत्पादन आवश्यक छ। रे–ब्यानको ब्रान्ड मूल्यका कारण उपभोक्ता बढी मूल्य तिर्न तयार भए पनि सस्तो विकल्पले नयाँ ग्राहक आकर्षित गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले नयाँ स्मार्ट चस्मा तीन फरक डिजाइनमा ल्याएको छ। ‘एडभेन्चरर’ मोडेलमा सानो फ्रेम, ‘फ्युरी’ मा केही ठूलो तथा गोलाकार फ्रेम र तेस्रो विशेष संस्करणमा अमेरिकी सञ्चार व्यक्तित्व काइली जेनर को डिजाइनमा आधारित अण्डाकार आकारको मोडेल समावेश गरिएको छ।

विशेष संस्करणको चस्मामा प्रयोगकर्ताले सामान्य एआई आवाजको सट्टा काइली जेनरको आवाजमा आधारित डिजिटल सहायक प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। चस्मा लगाउँदा विशेष ध्वनि बज्ने सुविधा पनि यसमा राखिएको छ।

के–के गर्न सक्छ नयाँ चस्माले ?

नयाँ मेटा ग्लासेसले संगीत बजाउने, विभिन्न भाषाको तत्काल अनुवाद गर्ने, वरपरको वातावरणबारे जानकारी दिने, तस्बिरको आधारमा वस्तु पहिचान गर्ने तथा प्रयोगकर्ताका प्रश्नको उत्तर दिने क्षमता राख्छ।

कम्पनीका अनुसार यसमा ‘म्युज स्पार्क’ नामक नयाँ एआई मोडेल प्रयोग गरिएको छ। यो प्रविधिले क्यामेराले खिचेका दृश्यको विस्तृत विश्लेषण गर्न, वस्तु पहिचान गर्न तथा प्रयोगकर्ताको रुचि र प्राथमिकता सम्झन सहयोग गर्नेछ।

प्रदर्शनका क्रममा चस्माले स्ट्रबेरीको परिकारमा कति क्यालोरी हुन सक्छ भन्ने अनुमान गर्न, अरबी भाषाको संकेतपाटीलाई अंग्रेजीमा अनुवाद गर्न तथा नजिकका सङ्ग्रहालयको सिफारिस गर्न सफल भएको बताइएको छ। यसले सजावटका लागि राखिएका नक्कली चेरीलाई वास्तविक फल नभएको समेत छुट्याएको थियो।

प्रविधि उद्योगमा अहिले स्मार्टफोनपछिको ‘अर्को ठूलो उपकरण’ के बन्न सक्छ भन्ने प्रतिस्पर्धा तीव्र छ। मेटाले विगतमा स्मार्टफोन, स्मार्ट होम उपकरण र भर्चुअल रियालिटी हेडसेटमार्फत बजारमा प्रभाव जमाउने प्रयास गरे पनि अपेक्षित सफलता हासिल गर्न सकेको थिएन।

यही कारण कम्पनी अहिले स्मार्ट चस्मालाई स्मार्टफोन र स्मार्टवाचसरह सर्वसुलभ उपकरण बनाउने योजनामा केन्द्रित भएको छ। प्रयोगकर्ताले फोन निकाल्नै नपरी जानकारी खोज्न, अनुवाद गर्न, तस्बिर खिच्न वा डिजिटल सहायकसँग संवाद गर्न सक्ने अवधारणालाई कम्पनीले भविष्यको कम्प्युटिङ अनुभवका रूपमा प्रस्तुत गरिरहेको छ।

यद्यपि बजार विश्लेषकहरूका अनुसार स्मार्ट चस्माको सबैभन्दा ठूलो चुनौती प्रविधि होइन, प्रयोगको स्पष्ट आवश्यकता हो। उपभोक्तालाई स्मार्टफोनभन्दा स्मार्ट चस्मा किन उपयोगी छ भन्ने कुरा अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन।

बजार अनुसन्धान संस्था आईडीसीका अनुसार स्मार्ट चस्माको औसत बिक्री मूल्य आगामी वर्षहरूमा निरन्तर घट्दै जाने अपेक्षा गरिएको छ। मूल्य घटेसँगै यसको प्रयोग पनि बढ्न सक्ने अनुमान गरिएको छ।

मेटाको नयाँ प्रयासले एआईलाई मोबाइल स्क्रिनबाट बाहिर निकालेर प्रत्यक्ष आँखाअगाडि ल्याउने दिशा देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *