`

देशकै पहिलो मानवविहीन स्मार्ट सबस्टेसन सञ्चालनमा

Nepal One HD ११ असार २०८३ ११:२०
विज्ञान-प्रविधि

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई थप आधुनिक, स्वचालित र भरपर्दो बनाउने लक्ष्यसहित मोरङको लेटाङमा देशकै पहिलो मानवविहीन (अनम्यान्ड) अटो रिकलोजर तथा एसकाडा (सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन) प्रणालीमा आधारित ३३/११ केभी सबस्टेसन सञ्चालनमा ल्याएको छ।

यससँगै नेपालको विद्युत् वितरण प्रणाली स्मार्ट ग्रिड प्रविधितर्फ अघि बढेको महत्वपूर्ण उपलब्धिका रूपमा यस आयोजनालाई हेरिएको हो।

करिब १० करोड रुपैयाँको लागतमा निर्माण गरिएको लेटाङ ३३/११ केभी, ८ एमभिए क्षमताको सबस्टेसन सफल परीक्षण, कमिसनिङ तथा चार्जिङ प्रक्रिया पूरा भएपछि बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। नेपाल विद्युत् प्राधिकरणको कोशी प्रदेश कार्यालयअन्तर्गत निर्माण गरिएको यो सबस्टेसन वितरण प्रणालीमा पहिलोपटक पूर्ण स्वचालित तथा मानवविहीन संरचनाका रूपमा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।

विसं २०७९ वैशाख ६ गतेदेखि निर्माण सुरु गरिएको उक्त आयोजना जय दुर्गे इन्फ्रा इन्जिनियरिङले सम्पन्न गरेको हो। सबस्टेसनमा ८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिएको छ भने ३३ केभीका चारवटा र ११ केभीका पाँचवटा ‘बे’ निर्माण गरिएको छ। नियन्त्रण कक्ष, कार्यालय भवन तथा कर्मचारी आवाससमेत निर्माण गरिएको छ।

प्राधिकरणका अनुसार यस सबस्टेसनको प्रमुख विशेषता अटो रिकलोजर र एसकाडा प्रणाली हो। अटो रिकलोजर प्रविधिले विद्युत् लाइनमा सामान्य खालका अवरोध वा क्षणिक समस्या उत्पन्न भएमा स्वतः विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने क्षमता राख्छ। यसले साना प्राविधिक समस्याका कारण बारम्बार हुने विद्युत् अवरोधलाई उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।

त्यस्तै, एसकाडा प्रणालीमार्फत सबस्टेसनको सम्पूर्ण सञ्चालन र निगरानी दूरस्थ रूपमा गर्न सकिनेछ। यसका लागि सबस्टेसनमा स्थायी रूपमा ठूलो जनशक्ति खटाइरहन आवश्यक पर्दैन। केन्द्रबाटै उपकरणहरूको अवस्था निगरानी, नियन्त्रण तथा समस्या समाधान गर्न सकिने भएकाले सञ्चालन खर्चमा कमी आउने प्राधिकरणको विश्वास छ।

लेटाङ नगरपालिका र बेलबारी नगरपालिका क्षेत्रका हजारौँ उपभोक्ताले यस आयोजनाबाट प्रत्यक्ष लाभ पाउने बताइएको छ। ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको न्यून भोल्टेज, बारम्बारको ट्रिपिङ तथा विद्युत् आपूर्तिमा हुने अनियमितताको समस्या कम हुने अपेक्षा गरिएको छ। साथै विद्युत् गुणस्तरमा सुधार आउनुका साथै प्राविधिक तथा व्यावसायिक चुहावटसमेत घट्ने प्राधिकरणको दाबी छ।

विद्युत् आपूर्तिको विश्वसनीयता बढेसँगै स्थानीय उद्योग, व्यवसाय तथा घरेलु उपभोक्ताले पनि प्रत्यक्ष लाभ प्राप्त गर्नेछन्। विशेषगरी आधुनिक प्रविधिमा आधारित वितरण प्रणालीले सेवा अवरुद्ध हुँदा समस्या पहिचान र समाधानको समय छोट्याउने भएकाले उपभोक्ताले छिटो सेवा प्राप्त गर्न सक्नेछन्।

नेपाल विद्युत् प्राधिकरणले लेटाङ सबस्टेसनलाई भविष्यको स्मार्ट विद्युत् सञ्जाल निर्माणको नमुना परियोजनाका रूपमा लिएको छ।

आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि यस्तै प्रविधिमा आधारित स्वचालित सबस्टेसन विस्तार गर्ने योजना रहेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *