`

१२ वर्षको मेहनत खेर गयो भन्दै माइतीघर उत्रिए विद्यार्थीहरू [फोटो-फिचर]

Nepal One HD ११ असार २०८३ १३:५९
फोटोफिचर

काठमाडौं। कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा गम्भीर त्रुटि भएको आरोप लगाउँदै उनीहरूले निष्पक्ष छानबिनको माग गरेका हुन्।

प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरेका थिए। प्रदर्शनमा सहभागीहरूले नतिजा सार्वजनिक गर्ने प्रक्रियामा हतार गरिएको र त्यसको प्रत्यक्ष असर हजारौँ विद्यार्थीमाथि परेको दाबी गरेका छन्।

विद्यार्थीहरूले ‘१२ वर्षको मेहनत खेरको जिम्मेवार को ?’, ‘हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाउँ ?’, ‘मन्त्रीहरूको अहंकारको मूल्य विद्यार्थीहरूले किन चुकाउनुपर्छ ?’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरूको भनाइमा नतिजा प्रकाशनपछि धेरै विद्यार्थीले प्राप्ताङ्कप्रति गम्भीर प्रश्न उठाए पनि पुनर्मूल्याङ्कन र रिटोटलिङको प्रभावकारी व्यवस्था नहुँदा आफूहरू अन्यायमा परेको महसुस गरिरहेका छन्। उनीहरूले निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।

 

विद्यार्थीहरूले कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई उच्च शिक्षा, छात्रवृत्ति तथा भविष्यको शैक्षिक यात्रासँग प्रत्यक्ष जोडिएको विषय भएको बताएका छन्। त्यसैले सम्बन्धित निकायले विद्यार्थीको गुनासोलाई गम्भीर रूपमा लिनुपर्ने उनीहरूको माग छ।

प्रदर्शनकारीहरूले आफ्ना मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्। उनीहरूले शिक्षा प्रणालीप्रति विश्वास कायम राख्न नतिजा प्रक्रियाको स्वतन्त्र छानबिन आवश्यक रहेको बताएका छन्।

यता, शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। मन्त्रालयले मूल्याङ्कन प्रक्रिया निर्धारित मापदण्डअनुसार सम्पन्न भएको दाबी गर्दै आएका आरोपहरूमा सत्यता नरहेको जनाएको छ।

विद्यार्थीको असन्तुष्टि र मन्त्रालयको स्पष्टीकरणबीच कक्षा १२ को नतिजा विवाद अहिले सार्वजनिक बहसको विषय बनेको छ। आगामी दिनमा सम्बन्धित निकायले यस विषयलाई कसरी सम्बोधन गर्छ भन्नेमा हजारौँ विद्यार्थीको चासो केन्द्रित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *