`

बालेन सरकारको ‘सय दिन, सय काम’: घोषणा धेरै, उपलब्धि थोरै

Nepal One HD १२ असार २०८३ १८:३८
फिचर

काठमाडौं। जेनजी आन्दोलनको जगमा बनेको वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पदभार ग्रहण गरेलगत्तै ‘सय दिन, सय काम’ कार्ययोजना सार्वजनिक गरेसँगै जनमानसमा छुट्टै आशा र रौनक छाएको थियो।

बालेन सरकारले छोटो अवधिमै प्रशासनिक सुधार, आर्थिक पुनरुत्थान र सुशासनमा उल्लेखनीय उपलब्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य अघि सार्‍यो ।

सरकार गठनसँगै सार्वजनिक गरिएको उक्त कार्ययोजनाले उद्योग, लगानी, कृषि, ऊर्जा, पर्यटन, भूमिसुधार, राजस्व प्रशासन, रोजगारी तथा डिजिटल शासनलगायतका क्षेत्रमा तीव्र सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको थियो।

सय दिन पूरा भइसकेपछि सरकारका प्रतिबद्धताको कार्यान्वयन अवस्था हेर्दा केही क्षेत्रमा प्रारम्भिक प्रगति देखिए पनि अधिकांश योजना अझै प्रक्रियामै सीमित देखिएका छन्।

आर्थिक सूचक, सार्वजनिक तथ्यांक तथा निजी क्षेत्रको प्रतिक्रियाले पनि सरकारले घोषणा गरेअनुसार परिणाम दिन नसकेको संकेत गरेका छन्। सरकार भने अधिकांश योजना कार्यान्वयनकै चरणमा रहेको दाबी गर्दै आएको छ।

पुँजीगत खर्चमै सरकारको सबैभन्दा ठूलो चुनौती

सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्ने सबैभन्दा महत्वपूर्ण आधार पुँजीगत खर्च मानिन्छ। तर चालु आर्थिक वर्ष सकिन करिब २० दिन बाँकी रहँदासम्म सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको जम्मा ३४.१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। गत आर्थिक वर्षको यही अवधिमा पुँजीगत खर्च ४३ प्रतिशत पुगेको थियो।

पुँजीगत खर्च कमजोर हुँदा राष्ट्रिय गौरवका आयोजना, सडक, पुल, सिँचाइ, ऊर्जा तथा अन्य पूर्वाधार निर्माण प्रभावित हुन्छन्। यसले निर्माण व्यवसायीको भुक्तानी ढिलो हुने, रोजगारी सिर्जना घट्ने, बजारमा नगद प्रवाह कम हुने र समग्र आर्थिक गतिविधिमा सुस्तता आउने जोखिम बढाउँछ। बलियो राजनीतिक जनादेशसहित गठन भएको सरकारले समेत विकास खर्च बढाउन नसक्नु आर्थिक व्यवस्थापनमाथि प्रश्न उठाउने प्रमुख आधार बनेको छ।

लगानीकर्ताको विश्वास अझै फर्किएन

सरकार गठनपछि निजी क्षेत्र र लगानीकर्ताले आर्थिक सुधारको अपेक्षा गरेका थिए। तर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा देखिएको निरन्तर गिरावटले बजारमा अपेक्षित विश्वास सिर्जना हुन नसकेको देखाउँछ।

सरकार गठनका बेला करिब २७ सय अंकमा रहेको नेप्से घटेर करिब २६५१ अंकमा पुगेको छ।

विश्लेषकहरूका अनुसार पुँजी बजार केवल सेयर कारोबारको सूचक मात्र होइन, सरकारप्रति निजी क्षेत्रको मनोवैज्ञानिक विश्वास मापन गर्ने आधार पनि हो।

लगानीकर्ताले स्थिर नीति, कर प्रणालीमा स्पष्टता, नियामकीय सहजता र लगानीमैत्री वातावरण खोजिरहेका छन्। तर सय दिनभित्र त्यस्तो विश्वास दिलाउने खालको ठोस नीति कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ।

राजस्वमा सामान्य सुधार, लक्ष्य भने अझै टाढा

सरकारले राजस्व प्रशासन सुधारलाई प्रमुख प्राथमिकतामा राखेको थियो। राजस्व चुहावट नियन्त्रण, कर प्रणालीको पूर्ण डिजिटलीकरण, ठूला व्यवसायमा ई-बिलिङ अनिवार्य तथा निष्क्रिय स्रोत परिचालन गर्ने घोषणा गरिएको थियो।

यद्यपि हालसम्म सरकारले वार्षिक लक्ष्यको ७४.५१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यो दर ७३.८ प्रतिशत थियो। प्रतिशतमा सामान्य सुधार देखिए पनि लक्ष्य प्राप्त गर्ने सम्भावना कमजोर देखिएको छ।

त्यसैगरी वैदेशिक अनुदान परिचालन पनि ४४.३१ प्रतिशतमा सीमित छ। विकास साझेदारबाट प्राप्त हुने अनुदान समयमै परिचालन हुन नसक्दा धेरै विकास आयोजना प्रभावित भएका छन्।

उद्योग र लगानी सुधारका योजना अझै कागजमै

सरकारले उद्योग स्थापना प्रक्रियालाई सहज बनाउन ‘वन डोर बिजनेस प्लेटफर्म’ सञ्चालन गर्ने, उद्योग दर्तादेखि कर दर्ता, बैंक खाता र स्वीकृतिसम्म एउटै प्रणालीमा जोड्ने घोषणा गरेको थियो।

साथै ‘स्टार्टअप फास्ट ट्र्याक’ लागू गर्ने, लगानी बोर्डमार्फत एकद्वार सेवा दिने तथा राष्ट्रिय परियोजनाको एकीकृत सूची तयार गर्ने योजना पनि अघि सारिएको थियो।

तर उद्योग विभाग, कम्पनी रजिस्ट्रार, वाणिज्य विभाग तथा लगानी बोर्डबीच आवश्यक डिजिटल समन्वय अझै स्थापित हुन सकेको छैन।

रियल–टाइम डेटा आदानप्रदान गर्ने प्रणाली सञ्चालनमा आएको छैन भने संस्थागत दोहोरोपन हटाउने काम पनि अध्ययनकै चरणमा रहेको छ।

निजी क्षेत्रलाई रिझाउन सकेन

सरकारले निजी क्षेत्रको मनोबल उकास्न ‘प्राइभेट सेक्टर प्रोटेक्सन एन्ड प्रमोसन स्ट्राटेजी’ लागू गर्ने, औद्योगिक सुरक्षा सुदृढ गर्ने तथा आन्दोलनबाट प्रभावित व्यवसायलाई राहत दिने घोषणा गरेको थियो।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेका अनुसार बलियो सरकार हुँदाहुँदै पनि बजारमा अपेक्षित सुधार आउन सकेको छैन। उद्योग उत्पादन घटिरहेको, उपभोग नबढेको, बैंकमा लगानीयोग्य पुँजी थुप्रिएको र पुँजी बजार निरन्तर दबाबमा रहेकाले आर्थिक गतिविधि अझै सुस्त रहेको उनको भनाइ छ।

उनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न सरकारबाट स्पष्ट नीतिगत दिशा, स्थायित्व र विश्वास निर्माण आवश्यक रहेको बताएका छन्।

न्यून कार्यान्वयनमा कृषि सुधारका काम 

सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि उपज खरिदपछि २५ दिनभित्र अनिवार्य भुक्तानी, राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन, प्रत्येक पालिकामा कृषि हाटबजार र ‘एक पालिका, एक चिस्यान केन्द्र’ स्थापना गर्ने योजना अघि सारेको थियो।

तर कृषि मन्त्रालयका अनुसार चैते धानको समर्थन मूल्य निर्धारणबाहेक अन्य अधिकांश कार्यक्रम प्रारम्भिक तयारीमै छन्।

किसानले अपेक्षा गरेको कृषि सूचना प्रणाली, ‘सोइल हेल्थ कार्ड’ वितरण तथा चिस्यान केन्द्र स्थापना कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन्।

कर प्रशासनको डिजिटल रूपान्तरण अधुरै

सरकारले कर प्रशासनलाई पूर्ण रूपमा डिजिटल बनाउने, ठूला व्यवसायमा ई–बिलिङ अनिवार्य गर्ने तथा निष्क्रिय बैंक खाता र विभिन्न कोषमा रहेको रकम राज्यकोषमा परिचालन गर्ने योजना सार्वजनिक गरेको थियो।

अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना तयार भएको जनाएको भए पनि १३९ भन्दा बढी कोष एकीकरण गर्ने, निष्क्रिय स्रोत परिचालन गर्ने तथा धरौटी रकमको व्यवस्थापन गर्ने काम अझै सुरु हुन सकेको छैन।

ऊर्जा क्षेत्रमा आंशिक प्रगति

ऊर्जा निर्यात रणनीति बनाउने, रोकिएका विद्युत् खरिद सम्झौता (पिपिए) टुंग्याउने तथा नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधार गर्ने योजना पनि सरकारको प्राथमिकतामा थियो।

ऊर्जा मन्त्रालयले रणनीति निर्माण, ऊर्जा निर्यात विस्तार तथा केही पिपिए प्रक्रिया अघि बढेको जनाएको छ। तर सबै रोकिएका पिपिए सम्झौताको टुंगो लागिसकेको छैन भने प्राधिकरण सुधारसम्बन्धी अध्ययन पनि जारी छ।

रोजगारी, पर्यटन र भूमिसुधारमा अपेक्षित गति आएन

सरकारले रोजगार सेवा केन्द्रलाई ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’मा रूपान्तरण गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई पुनःएकीकरण गर्ने, ‘पीएम डेलिभरी युनिट’ स्थापना गरी योजनाको डिजिटल अनुगमन गर्ने तथा प्रमुख पर्यटकीय गन्तव्यको व्यवस्थित विकास गर्ने घोषणा गरेको थियो।

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको डिजिटल अभिलेख तयार गर्ने र सार्वजनिक जग्गाको जिआइएस नक्साङ्कन गर्ने योजना पनि सार्वजनिक गरिएको थियो।

तर यी अधिकांश कार्यक्रम अझै प्रारम्भिक चरणमै रहेका छन्। स्थानीय तहमा पुरानै संरचना कायम छ भने नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

सरकारको दाबी र डाँको ठुलो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सरकारले घोषणा गरेका अधिकांश कार्यक्रम कार्यान्वयनकै चरणमा रहेको बताएका छन्।

उनका अनुसार सय दिनको समीक्षा सम्पन्न भइसकेको छ र धेरै कार्यक्रम सुरु भइसकेका छन् भने केही प्रक्रियागत चरणमा छन्।

तर सार्वजनिक आर्थिक तथ्यांक, सरकारी प्रगति विवरण तथा निजी क्षेत्रको प्रतिक्रियाले सरकारको ‘सय दिन, सय काम’ अभियानले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको देखाउँछन्।

विश्लेषकहरूका अनुसार सरकारले सार्वजनिक गरेको कार्ययोजनाले आर्थिक सुधार, डिजिटल शासन र प्रशासनिक आधुनिकीकरणको स्पष्ट खाका प्रस्तुत गरेको भए पनि घोषणालाई परिणाममा रूपान्तरण गर्ने क्षमता अझै कमजोर देखिएको छ।

संस्थागत जटिलता, कानुनी प्रक्रिया, अन्तरनिकाय समन्वयको अभाव, प्रशासनिक ढिलासुस्ती र कार्यान्वयन संयन्त्रको कमजोरीका कारण धेरै योजना समयमै अघि बढ्न सकेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *