`

हिटलरका अन्तिम दिनहरू

समीन बरुवाल १३ असार २०८३ १५:२०
फिचर

काठमाडौं। सन् १९४५ को अप्रिल महिनाको अन्तिम सातासम्म आइपुग्दा जर्मनीका तानाशाह एडोल्फ हिटलरको शासन पूर्ण रूपमा पतनको संघारमा पुगेको थियो।

दोस्रो विश्वयुद्धमा लगातार पराजय बेहोरेको जर्मनी चारैतर्फबाट मित्रराष्ट्रको घेराबन्दीमा पर्यो। पश्चिमबाट अमेरिकी, बेलायती र फ्रान्सेली सेना अघि बढिरहेका थिए भने पूर्वबाट सोभियत संघको रेड आर्मी बर्लिनको मुटुसम्म पुगिसकेको थियो।

राजधानी बर्लिनमा दिनरात बमबारी भइरहेको थियो। सडकहरू भग्नावशेषमा परिणत भइसकेका थिए। यस्तो अवस्थामा पनि हिटलरले आत्मसमर्पण गर्न अस्वीकार गर्दै अन्तिम क्षणसम्म राजधानी नछोड्ने अडान लिएका थिए।

सन् १९४५ अप्रिल २५ तारिखपछि हिटलरको प्राथमिकता युद्ध जित्ने होइन, आफ्नै मृत्युको तयारी गर्ने बन्यो। यही दिन उनले आफ्ना निजी अंगरक्षक हिंज लिंगेलाई बोलाएर विस्तृत निर्देशन दिएका थिए।

हिटलरले आफूलाई गोली हानेर आत्महत्या गरेपछि आफ्नो शवलाई चान्सलरी भवनको बगैँचामा लगेर पेट्रोल छर्की जलाइदिन आदेश दिएका थिए। उनले आफ्नो मृत शरीर कसैले पनि देख्न वा पहिचान गर्न नसकोस् भन्ने चाहन्थे। यही कारण उनले शव पूर्ण रूपमा जलाइदिन भनेका थिए।

यति मात्र होइन, आफ्नो मृत्युपछि प्रयोग गरेका सबै लुगा, व्यक्तिगत सामान, सरकारी कागजात तथा अन्य सामग्रीसमेत सङ्कलन गरेर जलाउन निर्देशन दिएका थिए। केवल कलाकार अंटन ग्राफले बनाएको फ्रेडरिक महान्को तैलचित्र भने सुरक्षित राख्नुपर्ने उनले बताएका थिए।

हिटलर आफ्नो अन्तिम समय बर्लिनस्थित ‘फ्युरर बंकर’ मा बसेका थिए। जमिनभन्दा करिब ५० फिट तल बनाइएको यो बंकरमा बैठक कोठा, सुत्ने कोठा, सञ्चार कक्ष, भोजन कक्ष, कार्यालय र सुरक्षाका लागि विशेष संरचना निर्माण गरिएको थियो।

बाहिर लगातार सोभियत सेनाको गोलाबारी भइरहन्थ्यो। बंकरभित्र रहेका सबैलाई युद्ध अन्त्यतिर पुगेको स्पष्ट भइसकेको थियो।

हिटलर कहिलेकाहीँ मात्र आफ्नी प्रिय कुकुर ‘ब्लन्डी’लाई लिएर चान्सलरीको बगैँचामा निस्कन्थे। तर त्यहाँ पनि चारैतर्फ ध्वस्त भवन, धुवाँ र युद्धका भग्नावशेष मात्रै देखिन्थे।

बंकरभित्र हिटलरसँग सीमित मानिस मात्र बाँकी थिए। तीमध्ये उनकी प्रेमिका इवा ब्राउन, निजी सचिव त्राउडी जुंगे, मार्टिन बोरमान, जोसेफ गोएबेल्स, माग्दा गोएबेल्स, केही सैनिक अधिकारी, अंगरक्षक तथा सेवकहरू थिए।

निजी सचिव त्राउडी जुंगेका अनुसार बंकरभित्र बितेका अन्तिम दस दिन अत्यन्तै तनावपूर्ण थिए। बाहिरबाट बम र तोपका आवाज निरन्तर आइरहन्थे। सबैलाई सोभियत सेना कुनै पनि बेला बंकरभित्र पस्न सक्ने डर थियो।

अप्रिल २२ मा हिटलरले आफूलाई साथ दिइरहेकाहरूलाई चाहेको खण्डमा बर्लिन छोड्न सक्ने बताएका थिए। तर इवा ब्राउनले आफू अन्तिम क्षणसम्म हिटलरसँगै रहने घोषणा गरेकी थिइन्। त्यसपछि केही अन्य सहयोगीहरूले पनि बंकरमै बस्ने निर्णय गरेका थिए।

युद्धका कारण हिटलरको स्वास्थ्य निकै कमजोर भइसकेको थियो। युद्ध उत्पादन मन्त्री अल्बर्ट स्पियरले अन्तिम भेटमा हिटलरको अवस्था निकै दयनीय देखिएको बताएका छन्।

उनका अनुसार हिटलरको शरीर लगातार काँप्थ्यो। काँध झुकेको थियो। अनुहार सुन्निएको थियो। आँखामा थकान र निराशा स्पष्ट देखिन्थ्यो। हिँड्दा उनले सन्तुलन गुमाउँथे र भित्तो वा कुर्साको सहारा लिनुपर्थ्यो।

इतिहासकार रोबर्ट पेनले पनि हिटलर केही महिनामै धेरै वर्ष बूढो देखिन थालेको उल्लेख गरेका छन्। उनको दायाँ हात अनियन्त्रित रूपमा काँप्ने गर्थ्यो। कानमा भएको समस्याका कारण उनी सामान्य रूपमा हिँड्नसमेत सक्दैनथे।

युद्ध अन्तिम अवस्थामा पुगेपछि हिटलरले आफ्नो लामो समयदेखिकी प्रेमिका इवा ब्राउनसँग औपचारिक विवाह गर्ने निर्णय गरे।

तर त्यो समयमा बर्लिन चारैतर्फबाट घेरिएको थियो। विवाह गराउने अधिकारी खोज्नसमेत निकै कठिन भएको थियो। अन्ततः ठूलो जोखिम उठाएर अधिकारीलाई बंकरसम्म ल्याइयो।

विवाह समारोह अत्यन्तै सामान्य थियो। जोसेफ गोएबेल्स र मार्टिन बोरमान साक्षी बने।

विवाह प्रमाणपत्रमा हस्ताक्षर गर्दा इवा ब्राउनले सुरुमा आफ्नो पुरानो थर लेखेकी थिइन्। त्यसपछि त्यसलाई काटेर ‘इवा हिटलर’ लेखेकी थिइन्।

विवाह सम्पन्न भएपछि सानो भोजको आयोजना गरिएको थियो।

भोजमा जोसेफ गोएबेल्स, माग्दा गोएबेल्स, मार्टिन बोरमान, केही सैनिक अधिकारी, निजी सचिवहरू र भान्से सहभागी थिए।

इवा ब्राउनले स्याम्पेन पिइन्। हिटलरले पनि थोरै मात्रामा स्याम्पेन ग्रहण गरे। सुरुमा उनले पुराना दिनको सम्झना गरे। तर केहीबेरमै उनको मनस्थिति फेरियो।

उनले आफूलाई सबैले धोका दिएको, सेना असफल भएको र अब सबै समाप्त भएको बताएका थिए।

३० अप्रिलको बिहान हिटलर केही घण्टा आराम गरेर उठेका थिए। नुहाएर दाह्री काटेपछि उनले आफ्ना सेनापतिहरूसँग अन्तिम बैठक गरे।

त्यसपछि उनले साइनाइड क्याप्सुल प्रभावकारी छ कि छैन भनेर परीक्षण गर्न आदेश दिए। यसका लागि आफ्नी प्रिय कुकुर ब्लन्डीलाई साइनाइड खुवाइएको थियो। केही सेकेन्डमै ब्लन्डीको मृत्यु भयो। त्यसपछि ब्लन्डी र उसका छाउराहरूलाई गोली हानेर बगैँचामा गाडिएको उल्लेख गरिएको छ।

हिटलरले आत्महत्यापछि आफ्नो शव पूर्ण रूपमा जलाउन कम्तीमा २०० लिटर पेट्रोल आवश्यक पर्ने बताएका थिए। त्यसबेला बर्लिनमा इन्धनको चरम अभाव थियो। निकै कठिन प्रयासपछि करिब १८० लिटर पेट्रोलको व्यवस्था गरिएको थियो।

आत्महत्याअघि हिटलर र इवा ब्राउनले बंकरमा रहेका सबैसँग अन्तिम पटक भेट गरेका थिए। हिटलरले कसैको अनुहारतर्फ नहेरी केवल हात मिलाएका थिए। इवा ब्राउनले गाढा निलो पोशाक लगाएकी थिइन् भने हिटलर सामान्य पोशाकमा थिए। त्यसपछि दुवैजना निजी कोठाभित्र प्रवेश गरे।

गोएबेल्सकी पत्नी माग्दा गोएबेल्सले हिटलरलाई आत्महत्या नगर्न आग्रह गर्न खोजेकी थिइन्। तर हिटलरले कसैलाई भेट्न अस्वीकार गरे।

केही समयपछि बंकरबाहिर रहेका अंगरक्षकहरूले बारुदको गन्ध महसुस गरे।

ढोका खोल्दा हिटलर कुर्सीमा मृत अवस्थामा भेटिएका थिए। उनले आफ्नै टाउकोमा गोली हानेका थिए।

इवा ब्राउन सोफामा मृत अवस्थामा थिइन्। उनले साइनाइड विष सेवन गरेकी थिइन्।

हिटलरको शव कम्बलमा बेरेर चान्सलरीको बगैँचामा लगियो। इवा ब्राउनको शव पनि त्यहीँ पुर्‍याइयो। पहिलेदेखि तयारी अवस्थामा राखिएको पेट्रोल शवमाथि छर्केर आगो लगाइयो।

त्यहाँ उपस्थित नजिकका सहयोगीहरूले अन्तिम पटक ‘हेल हिटलर’ भन्दै सलामी दिएका थिए।

लगभग दुई घण्टाभन्दा बढी समयसम्म शव जलिरह्यो। त्यसपछि बाँकी रहेका अवशेष जमिनमा गाडिएको थियो।

केही दिनपछि सोभियत सेनाले उक्त स्थान कब्जा गर्‍यो। जलेका अवशेष उत्खनन गर्दा दाँतको कृत्रिम संरचना (डेन्टल ब्रिज) फेला परेको थियो। हिटलरका दन्त चिकित्सकसँग सम्बन्धित विवरणका आधारमा उक्त अवशेष हिटलरकै भएको दाबी गरिएको थियो।

हिटलरको मृत्यु भएपछि केही दिनमै जर्मनीले आत्मसमर्पण गर्‍यो। नाजी शासनको अन्त्यसँगै युरोपमा दोस्रो विश्वयुद्ध समाप्तितर्फ अघि बढ्यो।

युद्धका क्रममा करोडौँ मानिसको ज्यान गएको थियो। नाजी शासन अन्तर्गत भएको होलोकास्ट, नरसंहार, यातना शिविर, जातीय विभेद र युद्ध अपराध मानव इतिहासका सबैभन्दा भयावह घटनामध्ये गनिन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *