`

कहाँ पुग्यो पृथ्वीबाहिर जीवनको खोजी ?

समीन बरुवाल १४ असार २०८३ १०:२२
फिचर

काठमाडौं। ब्रह्माण्डमा पृथ्वी मात्र जीवन भएको एकमात्र ग्रह हो कि अन्यत्र पनि जीवनको कुनै रूप अस्तित्वमा छ ? मानव सभ्यताले सयौँ वर्षदेखि खोजिरहेको यो प्रश्नको उत्तर अझै स्पष्ट रूपमा भेटिएको छैन।

आधुनिक विज्ञानले सौर्यमण्डलदेखि लाखौँ-करोडौँ प्रकाशवर्ष टाढाका तारामण्डलसम्म अनुसन्धानको दायरा विस्तार गरिसकेको भए पनि पृथ्वीबाहिर जीवन रहेको ठोस प्रमाण भने हालसम्म प्राप्त हुन सकेको छैन।

यद्यपि वैज्ञानिकहरूका अनुसार जीवनको खोजी रोकिएको छैन। नयाँ-नयाँ अन्तरिक्ष अभियान, अत्याधुनिक दूरबिन तथा अनुसन्धान परियोजनामार्फत ब्रह्माण्डका सम्भावित जीवनयोग्य ग्रहहरूको अध्ययन निरन्तर भइरहेको छ।

सूर्यबाट पाँचौँ स्थानमा रहेको वृहस्पति सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो। यो पृथ्वीभन्दा कैयौँ गुणा ठूलो भए पनि यसको सतह ठोस छैन। वृहस्पति मुख्यतः हाइड्रोजन र हिलियमजस्ता ग्यासबाट बनेको ग्रह हो।

सूर्यबाट करिब ७७ करोड ८५ लाख किलोमिटर तथा पृथ्वीबाट करिब ५४ करोड ४० लाख किलोमिटर टाढा रहेको यस ग्रहको माथिल्लो बादलीय क्षेत्रमा तापक्रम करिब माइनस १४५ डिग्री सेल्सियस पुग्छ भने यसको केन्द्रभागको तापक्रम करिब २४ हजार डिग्री सेल्सियस रहेको अनुमान गरिएको छ, जुन सूर्यको सतहको तापक्रमभन्दा पनि बढी हो।

सन् १९७६ मा पठाइएको ‘भायजर’ अन्तरिक्षयानले वृहस्पतिबाट पठाएका तथ्याङ्कपछि वैज्ञानिकहरूले ग्रहमै जीवन हुने सम्भावनालाई निकै कमजोर माने। त्यसपछि अनुसन्धानको केन्द्र वृहस्पतिको सतह नभई त्यसका दर्जनौँ प्राकृतिक उपग्रहतर्फ केन्द्रित हुन थालेको हो।

वृहस्पतिपछि पर्ने शनि, अरुण र वरुण पनि विशाल ग्यासीय ग्रह हुन्। यी ग्रहहरूमा ठोस सतह नहुँदा मानव वा पृथ्वीजस्तै जीवनको विकास हुने सम्भावना अत्यन्त न्यून मानिन्छ। यद्यपि यी ग्रहका केही उपग्रहहरूमा बरफमुनि पानी वा महासागर हुन सक्ने सम्भावनाले वैज्ञानिकहरूको ध्यान तानेको छ। भविष्यमा यी उपग्रहहरूमा थप अनुसन्धान हुने अपेक्षा गरिएको छ।

पृथ्वीको सबैभन्दा नजिकको प्राकृतिक उपग्रह चन्द्रमा मानवले प्रत्यक्ष पाइला टेकेको पहिलो खगोलीय पिण्ड हो। सन् १९६९ देखि १९७२ सम्म सञ्चालन गरिएका छ वटा ‘अपोलो’ अभियानमार्फत १२ जना अन्तरिक्ष यात्री चन्द्रमामा पुगेका थिए।

चन्द्रमामा पृथ्वीजस्तो वायुमण्डल छैन। त्यहाँ खुला रूपमा हावा र तरल पानी उपलब्ध छैन। यद्यपि पछिल्ला अनुसन्धानले विशेषगरी ध्रुवीय क्षेत्रमा बरफको रूपमा पानी रहेको संकेत दिएका छन्।

वैज्ञानिकहरू अहिले चन्द्रमालाई स्थायी मानव बस्तीभन्दा पनि अन्तरिक्ष अनुसन्धानको आधार केन्द्र बनाउने योजनामा काम गरिरहेका छन्। चन्द्रमाको कमजोर गुरुत्वाकर्षणका कारण त्यहाँबाट अन्य ग्रहतर्फ अन्तरिक्षयान प्रक्षेपण गर्न पृथ्वीको तुलनामा कम ऊर्जा आवश्यक पर्ने भएकाले भविष्यमा यसलाई अन्तरिक्ष अभियानको महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने अवधारणा अघि बढाइएको छ।

सौर्यमण्डलमा पृथ्वीपछि सबैभन्दा धेरै अनुसन्धान भएको ग्रह मंगल हो।

सूर्यबाट करिब २२ करोड ७९ लाख किलोमिटर तथा पृथ्वीबाट न्यूनतम करिब ५ करोड ४६ लाख किलोमिटर दूरीमा रहेको मंगल ग्रहमा आजसम्म सबैभन्दा धेरै मानव निर्मित अनुसन्धान उपकरण पुगेका छन्।

मंगल ग्रहको औसत तापक्रम करिब माइनस ६० डिग्री सेल्सियस रहेको छ। यसको वायुमण्डल पृथ्वीको तुलनामा करिब सय गुणा पातलो छ। यसको वायुमण्डलमा अधिकांश भाग कार्बन डाइअक्साइड रहेको छ भने बाँकी भागमा नाइट्रोजन, आर्गन, अक्सिजन तथा कार्बन मोनोअक्साइडजस्ता ग्यास पाइन्छन्।

एक समय वैज्ञानिकहरूले मंगल ग्रहमा तरल पानी रहेको विश्वास गर्थे। तर सन् १९६५ मा ‘मेरिनर–४’ अभियानले पठाएको विवरणपछि त्यो धारणा कमजोर बन्न पुग्यो। पछि ‘वाइकिङ’ लगायतका अन्तरिक्ष अभियानहरूले मंगल ग्रह भू–वैज्ञानिक दृष्टिले धेरै हदसम्म निष्क्रिय भइसकेको ग्रह भएको निष्कर्ष निकाले।

आजसम्म मंगल ग्रहमा रोबोट, रोभर र अनुसन्धान उपकरणहरू सफलतापूर्वक अवतरण गरिसकेका छन्। तर मानव भने अझै त्यहाँ पुगेको छैन। विभिन्न अन्तरिक्ष संस्थाहरूले आगामी दशकभित्र मानवलाई मंगलमा पुर्‍याउने दीर्घकालीन लक्ष्य राखेका छन्।

हालसम्मको वैज्ञानिक अनुसन्धानअनुसार सौर्यमण्डलभित्र पृथ्वीजस्तै सहज रूपमा मानव बस्न सक्ने ग्रह भेटिएको छैन। यसैले वैज्ञानिकहरूको ध्यान अहिले सौर्यमण्डलभन्दा बाहिर रहेका ‘एक्सोप्लानेट’ अर्थात् बाह्यग्रहहरूको खोजीमा केन्द्रित भएको छ।

आकाशगंगा ‘मिल्की वे’ भित्र मात्रै पृथ्वीजस्ता अरबौँ ग्रह हुन सक्ने अनुमान गरिएको छ। यिनैमध्ये वैज्ञानिकहरूले विशेष चासोका साथ अध्ययन गरिरहेका तारापरिवारमध्ये ‘ट्रापिस्ट–१’ पनि एक हो। यस प्रणालीका केही ग्रहहरू आफ्नो ताराको ‘जीवनयोग्य क्षेत्र’ अर्थात् तापक्रमका हिसाबले पानी तरल अवस्थामा रहन सक्ने क्षेत्रमा रहेको अनुमान गरिएको छ।

त्यस्तै, सूर्यको सबैभन्दा नजिकको तारा ‘प्रोक्सिमा सेन्टौरी’ वरिपरि परिक्रमा गर्ने ‘प्रोक्सिमा सेन्टौरी-बी’ नामक ग्रह पनि जीवनको सम्भावनासँग जोडिएर अध्ययन भइरहेको छ।

यद्यपि कुनै ग्रह जीवनयोग्य देखिए पनि त्यहाँ पुग्नु अहिलेको विज्ञानका लागि अत्यन्त कठिन चुनौती हो। ‘प्रोक्सिमा सेन्टौरी-बी’ पृथ्वीबाट करिब ४.२५ प्रकाशवर्ष टाढा रहेको छ। हाल मानवले निर्माण गरेका सबैभन्दा तीव्र गतिका अन्तरिक्षयानलाई त्यहाँ पुग्न हजारौँ वर्ष लाग्ने अनुमान गरिएको छ।

यदि भविष्यमा प्रकाशको गतिको केही अंशमा यात्रा गर्न सक्ने प्रविधि विकसित भयो भने पनि त्यहाँ पुग्न वर्षौँ लाग्नेछ। त्यति लामो यात्राका लागि आवश्यक ऊर्जा, खाद्यान्न, जीवन-समर्थन प्रणाली तथा अन्तरिक्षयानको संरचना अहिलेको प्रविधिबाट सम्भव देखिएको छैन। यसैले जीवनयोग्य ग्रह भेटिए पनि तत्काल त्यहाँ मानव बसाइँ सर्न सक्ने अवस्था नरहेको वैज्ञानिकहरूको निष्कर्ष छ।

जीवनको खोजी गर्दा मानवले प्रायः पृथ्वीमा जस्तै पानी, अक्सिजन र जैविक संरचनाको खोजी गरिरहेको हुन्छ। तर केही वैज्ञानिकहरूका अनुसार जीवनका स्वरूप पृथ्वीमा विकसित भएको जीवनभन्दा पूर्णतः फरक पनि हुन सक्छ।

ब्रह्माण्डमा हुने तारा जन्मिने, विकसित हुने र अन्ततः नष्ट हुने प्रक्रियालाई पनि केही वैज्ञानिकहरूले ब्रह्माण्डीय जीवनचक्रकै रूपमा व्याख्या गर्ने प्रयास गरेका छन्। यस दृष्टिकोणले हेर्दा जीवनको परिभाषा मानवले अहिलेसम्म बुझेको सीमाभन्दा धेरै फराकिलो हुन सक्ने सम्भावना पनि औँल्याइन्छ।

वैज्ञानिकहरूका अनुसार पृथ्वीमा जीवन सम्भव हुनु कुनै एउटै कारणको परिणाम होइन। सूर्यसँगको उचित दूरी, उपयुक्त तापक्रम, चुम्बकीय क्षेत्र, स्थिर वायुमण्डल, तरल पानी, उचित गुरुत्वाकर्षण, उपयुक्त रासायनिक तत्त्व, चन्द्रमाको प्रभाव, ग्रहको आकारलगायत असंख्य प्राकृतिक अवस्थाहरू एकैसाथ अनुकूल भएकाले पृथ्वीमा जीवन विकसित हुन सकेको मानिन्छ। यीमध्ये कुनै एउटा अवस्था पनि फरक भएको भए पृथ्वी आजको जस्तो जीवनयोग्य ग्रह नहुन सक्थ्यो।

पृथ्वीबाहिर जीवन खोज्ने अभियान अझै जारी छ। विश्वका विभिन्न अन्तरिक्ष संस्था तथा निजी प्रविधि कम्पनीहरूले नयाँ पुस्ताका अन्तरिक्ष अभियानहरू सञ्चालन गरिरहेका छन्। अत्याधुनिक प्रविधिमा आधारित सूक्ष्म अन्तरिक्षयानमार्फत पृथ्वी नजिकका ताराहरूको अध्ययन गर्ने अवधारणामा पनि अनुसन्धान भइरहेको छ। यस्ता परियोजनाहरू सफल भएमा भविष्यमा पृथ्वीबाहिर रहेका सम्भावित जीवनयोग्य ग्रहबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

आजसम्मको अनुसन्धानले पृथ्वीबाहिर जीवन रहेको अन्तिम प्रमाण दिएको छैन। तर त्यसको अर्थ ब्रह्माण्डमा जीवन कतै पनि छैन भन्ने होइन। असीमित आकारको ब्रह्माण्डमा अरबौँ आकाशगंगा, खरबौँ तारा र असंख्य ग्रह रहेका छन्। त्यसमध्ये कतै पृथ्वीजस्तै वा पृथ्वीभन्दा फरक प्रकृतिको जीवन विकसित भएको हुन सक्ने सम्भावना वैज्ञानिकहरूले नकारेका छैनन्।

मानव सभ्यताको अन्तरिक्ष यात्रा अझै प्रारम्भिक चरणमै छ। नयाँ प्रविधि, शक्तिशाली दूरबिन र भविष्यका अन्तरिक्ष अभियानहरूले आगामी दशकहरूमा यो रहस्यबारे थप स्पष्ट उत्तर दिन सक्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *