‘प्रधानमन्त्रीले चितवनमा होइन, संसदमै जवाफ दिनुपर्छ’- सांसद राई
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपाल-भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमै आएर स्पष्ट धारणा राख्नुपर्ने बताएका छन्।
उनले सीमाजस्तो राष्ट्रिय महत्वको विषयमा संसदलाई बेवास्ता गरेर अन्य मञ्चबाट प्रतिक्रिया दिनु उपयुक्त नहुने धारणा व्यक्त गरे।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा रहेको हो वा राष्ट्रको हितविपरीत गएको हो भन्ने विषयमा अन्य कसैले होइन, स्वयं प्रधानमन्त्रीले सदनमा स्पष्ट पार्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीको भनाइ सही र राष्ट्रिय हितअनुकूल भएको प्रमाणित भए संसद्को अभिलेखबाट हटाउन आवश्यक नरहेको उल्लेख गरे। तर, यदि उक्त अभिव्यक्तिले राष्ट्रिय हित, सार्वभौमिकता वा कूटनीतिक सम्बन्धमा नकारात्मक असर पार्ने देखिए त्यसलाई संसद्को रेकर्डबाट तत्काल हटाउनुपर्ने उनको माग थियो।
राईले राजनीतिक दलभन्दा देश ठूलो हुने उल्लेख गर्दै सीमासम्बन्धी जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले पार्टीको कार्यक्रम वा सार्वजनिक सभाबाट होइन, संसदलाई नै प्राथमिकता दिनुपर्ने बताए।
उनले विपक्षी दलहरूले लगातार सीमाको विषय उठाइरहे पनि सरकार र सत्तारुढ पक्षले त्यसलाई आवश्यक गम्भीरताका साथ सम्बोधन नगरेको आरोप लगाए।
संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिनु सरकारको संवैधानिक र राजनीतिक दायित्व भएको उनको भनाइ थियो।
