भेनेजुएला भूकम्प : भग्नावशेषमा पुरिएका मानिस कति दिनसम्म बाँच्न सक्छन्?
काठमाडौं। हालै भेनेजुएलामा एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि हजारौँ संरचनामा क्षति पुगेको छ। उद्धार टोलीहरू भग्नावशेषमा फसेकाहरूको खोजीमा खटिएका छन्।
यस्तो अवस्थामा मानिसको जीवन कति समयसम्म जोगिन सक्छ भन्ने विषय फेरि चर्चामा आएको छ। ‘भग्नावशेषमा पुरिएका मानिस कति दिनसम्म बाँच्न सक्छन्?’
विशेषज्ञहरूका अनुसार यसको कुनै निश्चित उत्तर छैन। जीवित रहने समय व्यक्तिको शारीरिक अवस्था, लागेको चोट, सास फेर्न हावा उपलब्ध भए-नभएको, पानीको पहुँच, मौसम र मानसिक अवस्थाजस्ता धेरै कुराले निर्धारण गर्छ।
उद्धारकर्मीहरूका अनुसार भूकम्पपछिको पहिलो २४ घण्टा सबैभन्दा महत्वपूर्ण मानिन्छ। यही अवधिमा सबैभन्दा धेरै मानिस जीवित उद्धार हुने गरेका छन्। तर इतिहासले केही यस्ता उदाहरण पनि देखाएको छ, जहाँ मानिसहरू एक साताभन्दा धेरै समयपछि पनि जीवित फेला परेका छन्।
यही कारण संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय उद्धार निकायहरूले सामान्यतया पाँचदेखि सात दिनसम्म सक्रिय खोज तथा उद्धार अभियान सञ्चालन गर्छन्। यदि त्यस अवधिमा पनि जीवित भेटिने सम्भावना देखिएमा अभियान अझ लम्ब्याइन्छ।
भग्नावशेषभित्र बाँच्ने सम्भावना बढाउने सबैभन्दा महत्वपूर्ण तत्व अक्सिजन हो। भवन भत्किँदा शरीर वरिपरि सानो खाली ठाउँ बनेको छ र त्यहाँबाट हावा आइरहेको छ भने मानिस लामो समयसम्म बाँच्न सक्छ। भूकम्पका बेला बलियो टेबल वा फर्निचरमुनि बसेर टाउको जोगाउने अभ्यासलाई प्रभावकारी मानिन्छ। यसले शरीर वरिपरि सुरक्षित खाली स्थान बन्ने सम्भावना बढाउँछ।
पानी पनि जीवन रक्षाको अर्को आधार हो। सामान्य अवस्थामा मानिस पानीबिना तीनदेखि सात दिनसम्म मात्र बाँच्न सक्छ। भग्नावशेषमा अत्यधिक गर्मी भए शरीरबाट पानी छिटो गुम्ने भएकाले निर्जलीकरणको जोखिम बढ्छ। चिसो मौसममा भने शरीरको तापक्रम घटेर हाइपोथर्मिया हुन सक्छ। त्यसैले मौसमले पनि जीवित रहने समयलाई प्रत्यक्ष प्रभाव पार्छ।
यदि टाउको, छाती वा मेरुदण्डमा गम्भीर चोट लागेको छ भने बाँच्ने सम्भावना निकै घट्छ। अत्यधिक रक्तस्राव, भित्री अङ्गमा चोट वा धेरै हड्डी भाँचिएको अवस्थामा तत्काल उपचार नपाए अवस्था जटिल बन्छ।
अर्कोतर्फ, उद्धारपछि पनि जोखिम समाप्त हुँदैन। लामो समयसम्म भारी संरचनाले शरीर च्यापिँदा हुने ‘क्रस सिन्ड्रोम’का कारण मांसपेशीबाट निस्किएका हानिकारक पदार्थ रगतमा मिसिँदा मिर्गौला तथा अन्य अङ्गमा गम्भीर असर पर्न सक्छ।
विशेषज्ञहरूले मानसिक अवस्थालाई पनि उत्तिकै महत्वपूर्ण मान्छन्। अत्यधिक आत्तिँदा मानिसले धेरै अक्सिजन प्रयोग गर्छ र शरीरको ऊर्जा छिटो सकिन्छ। त्यसैले सम्भव भएसम्म शान्त रहनु, अनावश्यक रूपमा शरीर नचलाउनु र उद्धार हुने आशा कायम राख्नु जीवन जोगाउने महत्वपूर्ण उपाय मानिन्छ।
विश्वका विभिन्न विपत्तिले आश्चर्यजनक उद्धारका उदाहरण पनि दिएका छन्। सन् १९९५ मा दक्षिण कोरियामा एक व्यक्ति १० दिनपछि जीवित निकालिएका थिए। सन् २०१३ मा बङ्गलादेशको राना प्लाजा भवन दुर्घटनामा एक महिला १७ दिनपछि जीवित भेटिएकी थिइन्।
सन् २०१० को हैटी भूकम्पमा एक व्यक्ति १२ दिनपछि र अर्का एक २७ दिनपछि जीवित उद्धार भएका थिए। त्यस्तै सन् २००५ मा पाकिस्तान प्रशासित कश्मीरमा आएको भूकम्पपछि एक महिला करिब दुई महिनापछि भग्नावशेषबाट जीवित फेला परेको घटना पनि विश्वकै दुर्लभ उद्धारमध्ये एक मानिन्छ।
यदि पर्याप्त हावा उपलब्ध छ, गम्भीर चोट लागेको छैन, शरीरले केही मात्रामा पानीको आवश्यकता पूरा गर्न सकेको छ र मानसिक रूपमा धैर्य कायम छ भने मानिसले सामान्य अनुमानभन्दा धेरै दिनसम्म पनि जीवन जोगाउन सक्छ।
