मुख्यमन्त्रीको निवासमै पुगेर ट्राफिक प्रहरीले काट्यो चीट
काठमाडौं । हेल्मेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्।
मुख्यमन्त्री निवास परिसरभित्र शाहले हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसको व्यापक आलोचना भएको थियो। त्यसपछि ट्राफिक प्रहरी मुख्यमन्त्री निवासमै पुगेर कारबाही प्रक्रिया अघि बढाएको हो।
ट्राफिक प्रहरीले शाहलाई ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुरमा ५०० रुपैयाँ जरिवाना गर्दै चिट काटेको छ।
पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरेका छन्। उनले कानुनअनुसार आफूलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई आफैं आग्रह गरेको पनि बताए।
‘म ट्राफिक प्रहरीलाई धन्यवाद दिन्छु। कानुन सबैका लागि समान हुनुपर्छ। ठूला व्यक्तिलाई कानुन नलाग्ने भन्ने हुँदैन। कानुनले गरेको व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्छ,’ उनले भने।
शाहले पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै भेदभाव हुन नहुने उल्लेख गर्दै सबै नागरिकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन्।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकमार्फत शाहले हेल्मेटबिना मोटरसाइकल चलाएको भिडियो सार्वजनिक गरेका थिए। केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा त्यसबारे विभिन्न टिप्पणीसमेत भएका थिए।
