यसरी रोकियो संसदको लाइभ
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले समसामयिक राष्ट्रिय विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा हाल विशेष समय सञ्चालन भइरहेको छ र विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ।
यसैबीच संसद् सचिवालयको इन्टरनेट प्रणालीमा आएको प्राविधिक समस्याका कारण बैठकको प्रत्यक्ष प्रसारण केही समयका लागि अवरुद्ध भएको छ। सचिवालयका सहसचिव दशरथ धमलाका अनुसार प्राविधिक मर्मतको काम भइरहेकाले सेवा छिट्टै पुनः सञ्चालन गरिनेछ।
आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकको मुख्य एजेन्डा भने विभिन्न महत्त्वपूर्ण विधेयकमाथिको छलफल र पारित प्रक्रिया रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। उक्त विधेयकमाथि परेका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले नै राख्ने कार्यसूची छ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। संशोधन प्रस्तावमाथि निर्णय गरिसकेपछि विधेयक पारित गर्न पनि उनले प्रस्ताव प्रस्तुत गर्नेछन्।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा राख्नेछिन्। उक्त विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिएपछि त्यसलाई पारित गर्ने प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ।
यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ माथि दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछिन्। संशोधन प्रस्तावमाथिको निर्णयपछि उक्त विधेयक पारित गर्ने प्रस्ताव पनि आजकै बैठकमा पेश गरिने कार्यसूची रहेको छ।
आजको प्रतिनिधिसभा बैठकमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार महत्त्वपूर्ण विधेयकलाई अन्तिम रूप दिने तयारी गरिएको छ।
