`

यात्रुवाहक मिनीबस कर्णाली नदीमा खस्यो

Nepal One HD १८ असार २०८३ १३:५९
समाचार

काठमाडौं । दैलेखको कर्णाली राजमार्गअन्तर्गत चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतरा क्षेत्रमा यात्रुवाहक मिनीबस दुर्घटनामा परेको छ।

सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको मिनीबस सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बुधबार बिहान करिब ११ः३० बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ। बसमा कति जना यात्रु सवार थिए भन्ने विवरण अझै खुल्न नसकेको र अन्य यात्रुको अवस्था पनि यकिन हुन नसकेको उनले जानकारी दिए।

दुर्घटनालगत्तै उद्धार सामग्रीसहित ३५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ। प्रहरी, स्थानीयवासी तथा अन्य उद्धारकर्मीले नदी किनार र आसपासका क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेका छन्।

घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

साथै बसमा रहेका यात्रुको संख्या र क्षतिको विस्तृत विवरण उद्धार कार्य सम्पन्न भएपछि मात्र सार्वजनिक हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *