`

कर्णाली बस दुर्घटना : एक जनाको शव फेला, बेपत्ता यात्रुको खोजी तथा उद्धार जारी

Nepal One HD १८ असार २०८३ १४:२७
बिशेष

दैलेख।  दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी दुर्घटनापछि उद्धार तथा बेपत्ता यात्रुको खोजी कार्य तीव्र पारिएको छ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बुधबार बिहान करिब ११ः३० बजे अनियन्त्रित भई सडकबाट करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीमा खसेको थियो।

दुर्घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस, नेपाल प्रहरी तथा प्रहरी चौकी पाल्तडाबाट संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको छ।

उद्धार अभियानका क्रममा दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शवलाई घटनास्थलबाट सडकसम्म ल्याउने प्रयास गरिरहेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गाडीमा कति जना यात्रु सवार थिए भन्ने आधिकारिक विवरण अझै खुल्न सकेको छैन। त्यसैले बेपत्ता हुन सक्ने यात्रुको खोजी तथा उद्धार कार्य निरन्तर जारी रहेको उनले बताए।

दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। यात्रुको यकिन संख्या र अन्य क्षतिको विवरण उद्धार कार्य सम्पन्न भएपछि मात्र सार्वजनिक हुने प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *