गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक हुन्छ : प्रवक्ता पोखरेल
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्री सुधन गुरुङमाथि गठित छानबिन समितिको प्रतिवेदन प्रक्रिया पूरा भएपछि सार्वजनिक गरिने बताएका छन्।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए।
‘त्यो प्रतिवेदन सार्वजनिक हुन्छ। नियमित प्रक्रियामा छ, प्रक्रिया पूरा भएपछि सार्वजनिक हुन्छ,’ उनले भने।
सम्पत्तिसम्बन्धी विवादमा परेपछि गृहमन्त्री गुरुङले यसअघि पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको थियो।
समितिले सरकारलाई प्रतिवेदन बुझाएलगत्तै गुरुङ जेठ २६ गते पुनः गृहमन्त्रीमा नियुक्त भएका थिए।
यद्यपि, समितिले प्रतिवेदन बुझाएको करिब एक महिना बितिसक्दा पनि सरकारले त्यसलाई सार्वजनिक गरेको छैन।
