गोरखापत्र संस्थानको महानिर्देशकमा सरकारले कसलाई नियुक्त गर्यो ?
काठमाडौं । सरकारले गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
लामो समयदेखि रिक्त रहेको गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा रावलको नियुक्तिसँगै संस्थाको प्रशासनिक नेतृत्वले पूर्णता पाएको छ। गोरखापत्र संस्थान सरकारको स्वामित्वमा रहेको नेपालको सबैभन्दा पुरानो सञ्चार संस्थामध्ये एक हो।
मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सिफारिसमा रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो। यही बैठकबाट सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।
यससँगै मन्त्रिपरिषद्ले बिहीबार विभिन्न सार्वजनिक निकायका रिक्त पदमा तीन जनालाई नियुक्त गर्दै प्रशासनिक नेतृत्वलाई पूर्णता दिने निर्णय गरेको छ।
