कांग्रेसकाे इतर पक्ष गल्याे, एकतातिर मन ढल्क्याे
काठमाडौं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि करिब छ महिनादेखि जारी आन्तरिक विवाद समाधानतर्फ उन्मुख हुने देखिएको छ।
लामो समयदेखि संस्थापन पक्षसँग टकरावको रणनीतिमा रहेको संस्थापनइतर पक्ष अहिले भने पार्टी एकतालाई प्राथमिकतामा राख्दै आफ्ना केही अडानमा लचक हुन तयार देखिएको हो।
इतर पक्षका शीर्ष नेताहरूबीच बुधबार नेता विमलेन्द्र निधिको थापागाउँस्थित निवासमा भएको छलफलले यही सन्देश दिएको छ। छलफलमा डा. शशांक कोइराला र प्रकाशमान सिंह सहभागी थिए। बैठकमा पार्टी एकताको वातावरण बनाउन केही विषयमा लचक हुने समझदारी बनेको सिंहनिकट स्रोतले जनाएको छ।
इतर पक्षका एक नेताका अनुसार आफ्नो पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित भएर बाहिर रहेका १११ जना केन्द्रीय सदस्यलाई समायोजन गर्नुपर्ने, विधानका केही प्रावधान निलम्बन गरेर भए पनि राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने लगायतका विषय उठाइरहे पनि क्रियाशील सदस्यता नवीकरणलगायतका केही एजेन्डामा भने लचक हुन सकिने संकेत दिएको छ।
यसैबीच, आज नेता पूर्णबहादुर खड्काको निवासमा इतर पक्षको बैठक बस्दै छ। बैठकमा संस्थापन पक्षसँग भइरहेको संवाद, पार्टीको पछिल्लो राजनीतिक अवस्था, १५औँ महाधिवेशनको तयारी तथा सहमतिका आधार तयार गर्ने विषयमा छलफल हुने जनाइएको छ।
इतर पक्षका नेताहरूका अनुसार अब विवादलाई लम्ब्याउनु भन्दा वार्ताबाट साझा निष्कर्षमा पुग्नु नै उपयुक्त विकल्प भएको निष्कर्ष बन्दै गएको छ।
पछिल्ला केही सातादेखि कांग्रेसका दुवै पक्षबीच प्रस्ताव र प्रत्युत्तर आदान–प्रदान भइरहेको छ। दुवैले आफ्ना धारणा लिखित रूपमा साटासाट गरिसकेका छन्।
त्यसपछि संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरेले पूर्णबहादुर खड्का, डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै भेटवार्ता गर्दै सहमतिको सम्भावना खोजेका थिए। ती भेटपछि संवाद सकारात्मक दिशातर्फ अघि बढेको दुवै पक्षका नेताहरूको दाबी छ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिलाई वैधानिकता दिएपछि इतर पक्षको रणनीतिमा पनि परिवर्तन आएको देखिएको छ।
यसअघि विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठाउँदै आएको इतर पक्ष अहिले आगामी महाधिवेशन निष्पक्ष बनाउने, सदस्यता व्यवस्थापन सुधार गर्ने र पार्टीभित्र सम्मानजनक राजनीतिक सहभागिता सुनिश्चित गराउने विषयमा केन्द्रित भएको छ।
वार्ताका क्रममा इतर पक्षले १११ जना केन्द्रीय सदस्यको समायोजन, महाधिवेशनसँग सम्बन्धित सबै समितिमा प्रतिनिधित्व तथा सदस्यता अद्यावधिक गरेका सबैलाई महाधिवेशनमा सहभागी गराउनुपर्ने प्रस्ताव अघि सारेको छ।
संस्थापन पक्षले विशेष महाधिवेशनको वैधतामाथिको प्रश्न स्वीकार गर्न नसकिने अडान दोहोर्याए पनि समायोजनका विषयमा संवाद जारी रहेको जनाएको छ।
महामन्त्री गुरुराज घिमिरेले पनि पार्टी विभाजन कसैको हितमा नरहेको बताउँदै अहिलेको राष्ट्रिय राजनीतिक परिस्थितिमा कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने साझा धारणा बनेको बताएका छन्।
उनका अनुसार प्रदेश र स्थानीय तहको निर्वाचन नजिकिँदै गएकाले पार्टीभित्रको विवादलाई संवादमार्फत समाधान गर्नुको विकल्प छैन।
इतर पक्षभित्र पनि विभाजनको विकल्प क्रमशः कमजोर बन्दै गएको संकेत देखिएको छ। पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले हालै लुम्बिनी प्रदेशस्तरीय भेलामा आफू कांग्रेस नछाड्ने स्पष्ट घोषणा गर्दै फरक मत भए पनि पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका थिए। उनको अभिव्यक्तिलाई पनि इतर पक्षभित्र सहमतिको पक्ष बलियो बन्दै गएको संकेतका रूपमा हेरिएको छ।
यद्यपि, वार्ता जारी रहेकै बेला इतर पक्षले आफ्नो संगठनात्मक तयारीलाई पनि निरन्तरता दिएको छ। काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरिसकेको इतर पक्षले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ भने अब राष्ट्रिय भेला गर्ने तयारीमा छ।
नेताहरूका अनुसार ती गतिविधिको उद्देश्य पार्टी विभाजन होइन, संस्थापन पक्षसँग सम्मानजनक सहमतिको वातावरण निर्माण गर्नु हो।
लामो समयदेखि जारी कांग्रेसको आन्तरिक विवादबीच इतर पक्षको पछिल्लो लचकताले सहमतिको सम्भावना बढाएको छ। अब दुवै पक्षबीचको वार्ता निष्कर्षमा पुग्ने वा नपुग्ने कुराले कांग्रेसको आगामी महाधिवेशन र पार्टीको भावी राजनीतिक दिशा तय गर्नेछ।
