`

गल्फुटारमा बसिरहेको कांग्रेस देउवा पक्षको बैठकमा को को छन् सहभागी? [तस्वीरहरु]

Nepal One HD १९ असार २०८३ १५:४८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूको बैठक शुक्रबार दिउँसोदेखि सुरु भएको छ। बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गल्फुटारस्थित निवासमा जारी छ।

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही तथा नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा. प्रकाशशरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना र मोहन बस्नेतलगायत सहभागी भएका छन्।

बैठकअघि संस्थापनइतर पक्षका नेताहरूबीच छुट्टाछुट्टै छलफलसमेत भएको थियो। बिहीबार बिहान पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाबीच खड्का निवासमा भेटवार्ता भएको थियो भने त्यसपछि खड्का डा. शशांक कोइरालासँग छलफल गर्न महाराजगञ्ज पुगेका थिए। त्यही दिन विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच पनि बानेश्वर हाइटस्थित निधि निवासमा छलफल भएको थियो।

संस्थापनइतर समूहले यसअघि सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। ती भेलामध्ये कोशी प्रदेशको कार्यक्रममा डा. शेखर कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

आजको बैठकमा सातवटै प्रदेशमा सम्पन्न भेलाको समीक्षा, आगामी राजनीतिक रणनीति तथा राष्ट्रिय भेला आयोजना गर्ने तयारीबारे छलफल हुने बताइएको छ।

यद्यपि, बैठकका एजेन्डाबारे औपचारिक जानकारी दिइएको छैन। नेता पूर्णबहादुर खड्काले नेताहरूबीच समसामयिक विषयमा छलफल र भेटघाटका लागि बैठक बोलाइएको प्रतिक्रिया दिएका छन्।

स्रोतका अनुसार संस्थापनइतर पक्षले निकट भविष्यमै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको छ। त्यसको मिति, स्वरूप र तयारीका विषयमा पनि आजको बैठकमा विस्तृत छलफल हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *