विवाह समारोहमा रथ अनियन्त्रित हुँदा १३ वर्षीया बालिकाको मृत्यु
काठमाडौं। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा विवाह समारोहका क्रममा बिहेको रथ अनियन्त्रित भई किच्दा एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार स्थानीय सञ्जय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखियाको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा बिहीबार राति ‘मटकोर’ विधि सञ्चालन भइरहेका बेला प्रदेश २–०३–००१ च ७४६८ नम्बरको बिहेको रथको ब्रेक अचानक फेल भएपछि रथ अनियन्त्रित भई समारोहस्थलमा पसेको थियो।
दुर्घटनामा स्थानीय ३५ वर्षीया कवितादेवी मुखिया पनि घाइते भएकी छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न रथलाई नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
